नरेश यादव, पर्सागढी, ६ कात्तिक/
बारा जिल्लाका प्रमुख बजारमध्ये जीतपुर बजारका पसलहरू धमाधम बन्द भइरहेका छन् । पर्सा जिल्लाको उत्तरी भेगको ग्रामीण क्ष्Fेत्र र बारा जिल्लाको पूर्वी उत्तरी भेगका मानिसहरूको सामान किनमेल गर्ने प्रमुख बजारको रूपमा रहेको जीतपुर बजारमा अहिले पसलहरू धमाधम बन्द भइरहेका छन् । जीतपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्मा लामिछानेले बर्सेनि १० प्रतिशत हाराहारीमा जीतपुर बजारमा पसलहरू बन्द भइरहेको बताए । उनले पछिल्लो समय घरभाडा दर घटाइएको र घरभाडाका लागि लिइने धरौटीसमेत नलिने व्यवस्था हुँदा समेत व्यापारीहरू टिकाउ नभएको र पसलहरू बन्द भइरहेको बताए ।

जीतपुर बजारमा अघिल्ला वर्ष १५ हजार भाडा र तीन महीनाको धरौटी लिने चलन थियो । अहिले घरधनीहरूले बजारका पसलहरू बन्द हुन थालेपछि घरभाडा दर आधा घटाएका छन् र धरौटी फिर्ता गरेका छन् । तर पनि बजारमा पसल गर्ने व्यापारीहरू पसल सञ्चालन हुन नसक्दा बन्द गरिरहेका छन् ।

जीतपुर बजारमा किनमेल गर्न आउने पर्सा र बाराका ग्राहकहरू सीधैं रक्सौल बजार जान थालेका र आर्थिक मन्दीको कारण पनि पहिलेको तुलनामा अहिले किनमेल कम भएको हुँदा पसलहरू बन्द भइरहेको बताइन्छ ।

जीतपुरको सबैभन्दा ठूलो सिटी मार्केट बजार अहिले सुनसान भएको छ । त्यहाँका ७५ प्रतिशत पसल बन्द छन् । खुलेका पसलहरूमा पनि बिक्री कम छ । जीतपुरका अन्य बजारमा घरभाडा र धरौटीबापतको रकममा कमी गरिए पनि सिटी मार्केट सञ्चालकले भने त्यस्तो नगर्दा त्यहाँ रहेका बजारहरू बन्द भएको सङ्घका अध्यक्ष शर्मा बताउँछन् । तर मार्केटका पूर्वसञ्चालक फिरोज देवानले भने शुरूमा ५५०० भाडा कायम गरेको र पछि ४००० बनाउँदा पनि पसल भाडामा नलागेको बताए ।

सिटी मार्केट कोरोनाकालमा सञ्चालनमा आएको थियो । रणधीर गुप्ताको जग्गामा वीरगंजका फिरोज देवानलगायतको लगानीमा ७३ वटा पसल निर्माण भएका थिए । तत्कालीन अवस्थामा ५३ वटा पसल भाडामा लागेको र कोरोनापछि घटेर २० वटामा पुगेको थियो । अहिले सो मार्केटमा १० वटा पसल मात्र सञ्चालनमा छन् । पसलहरू सञ्चालनमा आउन नसकेपछि सिटी मार्केट बनाएका देवानले जग्गाधनी गुप्तालाई हस्तान्तरण गरेर अहिले सेवाबाट मुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here