प्रस, परवानीपुर, ६ कात्तिक/
नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक डा नीरज सिंहले पोलियो उन्मूलन भइसके पनि ढुक्क हुनुपर्ने अवस्था भने नरहेको बताएका छन् ।

रोटरी क्लब अफ वीरगंज र रोटरी क्लब अफ मेट्रोपोलिसले संयुक्तरूपमा आयोजना गरेको पोलियो रोग उन्मूलनविरुद्धको अभिमुखीकरण कार्यक्रममा उनले पोलियो भाइरसको जोखिम विश्वव्यापी रहेको र जनचेतनाको अभावले पुनः सङ्क्रमणको सम्भावना उच्च रहेको बताए ।

डा आनन्द झाले पोलियो भाइरस संसारको कुनै पनि कुनामा फेला परेमा त्यसको असर नेपालमा पनि पर्ने बताए । मानव आवतजावतको कारणले पनि नेपालमा पोलियो भाइरसको जोखिम रहेको उनको दाबी छ ।

पत्रकार नीरज पिठाकोटेले पोलियो उन्मूलन अभियानलाई सघाउने उद्देश्यले निश्शुल्क प्रचार सामग्री प्रसारण गरिने बताए । ग्रामीण पत्रकार शम्भुकुमार सुमनले ग्रामीण क्षेत्रमा जनचेतनाका लागि विशेष प्रचारप्रसार गरिने बताए ।

रोटरी क्लबका अध्यक्ष अनिल जायसवालले क्लबले आगामी अक्टोबर २४ मा पोलियोविरुद्ध जनचेतना जगाउन नारायणी अस्पतालदेखि घण्टाघरसम्म दौड प्रतियोगिता, मानव साङ्लो निर्माण र दीप प्रज्वलनजस्ता कार्यक्रम हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here