प्रस, परवानीपुर, ५ कात्तिक/
नेपाल–भारतको वीरगंज–रक्सौल जोड्ने मितेरी पुलको उत्तरतर्फ अर्थात् नेपाल क्षेत्रमा ईरिक्शा, टेम्पो, टाँगालगायत सवारीसाधनहरूको रमिता हेर्न लायकको हुन्छ । ग्राहकको प्रतीक्षामा रहने यी सवारीसाधनहरूको अव्यवस्थित भीडले दुवै देशबाट आउजाउ गर्ने सर्वसाधारण, पर्यटकहरूले सास्ती भोग्नुपरेको छ । सो क्षेत्रमा दुर्घटनाको जोखिम पनि बढेको छ ।
यात्री खोसाखोस गर्न ईरिक्शाचालकहरू एकापसमा तँछाडमछाड गर्ने गरेको यात्रीहरूको गुनासो छ । भारतका विभिन्न राज्यबाट रेलवे स्टेशन झरेपछि नेपाल प्रवेश गर्दा पहिलो सवारीसाधन पाउने स्थान भनेकै मितेरी पुलको उत्तरी क्षेत्र हो ।
रेलवे स्टेशनबाट टाँगा, ईरिक्शा, टेम्पोबाट यात्रीहरू मितेरी पुलसम्म आउने गर्छन् । नेपालमा प्रवेश गर्नुपर्दा यात्रीहरूले ईरिक्शाको प्रयोग गर्नुपर्छ । जसमा यात्री खोसाखोस हुने गर्छ । भाडाको दरलाई लिएर समेत ईरिक्शाचालक र यात्रीबीच बार्गेनिङ हुन्छ भने कहिलेकाहीं यात्रीको ब्याग खोसाखोस हुँदा झगडासमेत हुने गरेको देखिन्छ ।
मितेरी पुलको मध्यभागमा समेत नेपाल तथा भारतका सवारीसाधनको भीड लाग्ने गरेको छ । भारतको राजधानी दिल्लीसँग काठमाडौंलाई जोड्ने छोटो दूरीको मार्ग वीरगंजमा यस्तो दृश्य देखिएपछि पर्यटन व्यवसाय प्रभावित भएको पर्यटन व्यवसायीहरू बताउँछन् । ईरिक्शा, टेम्पोहरूको अव्यवस्थित जाम र त्यसका चालकहरूको व्यवहारले गर्दा भारतीय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूमा नेपालको छवि खराब हुने भएकोले यसलाई सुधार्नुपर्ने होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हरि पन्तले बताए ।
यात्रीको लँुछाचुँडी गर्ने काम बन्द गर्नुपर्छ । ईरिक्शा सहजरूपमा पार्किङ गर्ने व्यवस्था मिलाउनुपर्छ । मितेरी पुल क्ष्Fेत्रको सडक खुला र निर्बाध सञ्चालन हुनुपर्ने उनको सुझाव छ ।
यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक लोकराज भट्टले त्यस क्षेत्रमा आफूले तत्काल सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले इलाका प्रहरी कार्यालय, इनर्वामा दुईजना ट्राफिक प्रहरी मात्र रहेकाले पनि समस्या भएको बताए । उनले सो समस्या समाधान गर्न र नाकालाई व्यवस्थित गर्न पार्न ट्राफिक प्रहरीको सङ्ख्या बढाउन पहल गर्ने बताए ।