प्रस, पोखरिया, ४ कात्तिक/
नवदुर्गा पूजा समिति पोखरियाको आयोजनामा जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि पोखरियाको खेलमैदानमा भएको फूटबल प्रतियोगिताको उपाधि वीरगंज युथ एकेडेमीले जितेको छ ।
आइतवार भएको फाइनल खेलमा वीरगंज युथले बिरुवागुठी युवा क्लबलाई पेनाल्टीमा चारका विरुद्ध पाँच गोल गरी उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टीम गोलरहित खेलेपछि पेनाल्टीबाट निर्णय गरिएको थियो । पेनाल्टीमा वीरगंज युथ क्लबले पाँचवटै बललाई पोलभित्र पु¥याएको थियो भने बिरुवागुठीको एक गोल वीरगंज युथका गोलकीपरले रोक्न सफल भएका थिए ।
प्रतियोगिताको विजेता टीमलाई रु एक लाख ११ हजार र उपविजेता टीमलाई रु ५१ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्रबाट कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले प्रदान गरेका थिए । वडाध्यक्ष एवं पूजा समितिका संयोजक लक्ष्मणसाह कानूको अध्यक्षतामा भएको समापन समारोहमा नगरप्रमुख प्रद्युम्न चौहान, उपप्रमुख रूबी ठाकुर, पूर्वनगरप्रमुख दीपनारायण रौनियार, राष्ट्रिय मुक्ति मोर्चाका नेजामुद्दीन समानीलगायतको सहभागिता थियो ।