प्रस, वीरगंज, ३ कात्तिक/
खानेपानीमन्त्री प्रदीप यादवले बारा जिल्लाको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा रहेको विश्वप्रसिद्ध गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलामा भक्तजन र दर्शनार्थीका लागि शुद्ध खानेपानी र शौचालयको व्यवस्थापन गरिने बताएका छन् ।

आगामी मङ्सिर महीनाको दोस्रो सातादेखि लाग्ने पञ्चवर्षीय मेला पशुबलिका लागि विश्वमा चर्चित छ । मेला भर्न आउनेहरूलाई खानेपानी र शौचालयको समुचित व्यवस्था हुने मन्त्री यादव शनिवार मन्दिरमा पुगेर बताएका हुन् ।

प्रसिद्ध गढीमाई मन्दिरमा आज पूजा गरी मन्त्री यादवले स्थानीय जनप्रतिनिधि र पूजा व्यवस्थापन समितिका पदाधिकारीहरूसँग यसबारे छलफल गरेका थिए । मन्त्री यादवले यस अघिका मेलाहरूमा खानेपानी र शौचालयको उचित व्यवस्थापन हुन नसक्दा मेला भर्न आउनेहरूलाई निकै समस्या भएको भन्दै यस वर्ष सो कार्य नदोहोरिने प्रतिबद्धता व्यक्त गरे ।

मेला अवधिभरि पानीको शुद्धता मापन यन्त्र जडान गरिने र सोको सञ्चालन र व्यवस्थापनमा कुनै कमी हुन नदिने बताए । उनले प्रदेश सरकारका प्रतिनिधिहरूलाई बरियारपुर क्षेत्रका विभिन्न स्थानमा डीप बोरिङ जडान गर्न आग्रह गरे ।

उनले आफ्नो प्रदेशमा रहेको ऐतिहासिक धार्मिक महŒवको मन्दिरले विश्वमा पहिचान बनाएको र देश विदेशबाट मानिसहरू मेला भर्न आउने हुँदा प्रदेश र देशको नाम पनि जोडिने हुँदा शुद्ध पिउने पानी र शौचालयको व्यवस्थापनमा हुने लापरवाही क्षम्य नहुने चेतावनी पनि दिए ।

मेला पर्यटकको ध्यान आकर्षण गराउने अवसर पनि भएकोले यसमा सबै पक्षले जिम्मेवारीपूर्ण तयारी गर्नुपर्ने सुझाए ।

उनले गढीमाई मन्दिर र मेला क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा बाराका सांसद कृष्णकुमार श्रेष्ठ, पूर्वसांसद प्रमोद गुप्ता, गढीमाई मेला मूल आयोजक समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव, जीतपुरसिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्मालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here