चालू आर्थिक वर्षको भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी आएको छ । यस महीना तीन दशमलव ८५ प्रतिशत मुद्रास्फीति दर कायम भयो । नेपाल राष्ट्र बैंकले मङ्गलवार सार्वजनिक गरेको चालू आवको दोस्रो महीनाको तथ्याङ्क अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो । अघिल्लो वर्षको भदौमा उपभोक्ता मुद्रास्फीति आठ दशमलव १९ प्रतिशत थियो । अघिल्लो वर्षभन्दा यस वर्ष भदौमा चार दशमलव ३४ प्रतिशतले मुद्रास्फीति दर कमी भएको हो । मुद्रास्फीति दर सर्वसाधारण उपभोक्तादेखि महलसम्म र राज्य सञ्चालनको उपल्लो तहसम्मका लागि चासोको कुरा हो । कुनै पनि उपभोग्य वस्तुको मूल्य घटबढ के छ थाहा पाउने सजिलो सूचकाङ्क मुद्रास्फीति दर हो । वस्तुको मूल्य घटबढ भएको वा महँगी घटे–बढेका कुरा मुद्रास्फीति दरबाट थाहा पाइन्छ । महँगी घटाएँ भनेर सरकार वा राजनीतिक दल र तिनका नेताहरूले जतिसुकै कुर्ले पनि वास्तविकता के हो भन्ने कुरा राष्ट्र बैंकले जारी गर्ने मुद्रस्फीति दरबाट छर्लङ्ग हुन्छ । उपभोक्ता मुद्रास्फीति वृद्धि हुनु भनेको वस्तु तथा सेवाहरूको मूल्यमा वृद्धि हुनु हो, जसले पैसाको क्रयशक्ति घट्छ । अतः साबिकमा पाइरहेको मूल्यमा वस्तु तथा सेवा उपलब्ध नहुनु र उपभोक्ताले थप मूल्य तिर्नुपर्ने नै मुद्रास्फीति दर वृद्धि हुनु हो ।

अघिल्लो भदौमा कुनै वस्तु तथा सेवाका लागि साबिकको दरभन्दा आठ दशमलव १९ प्रतिशत बढी मूल्य तिर्नुपरेको थियो । यस वर्ष भदौमा वस्तु तथा सेवाका मूल्य साबिक मूल्यभन्दा तीन दशमलव ८५ प्रतिशत मात्रै बढी तिर्नुपरेको छ । अतः गत वर्षको तुलनामा यस वर्ष महँगी अर्थात् मूल्यवृद्धि दर कम रह्यो भन्न सकिन्छ । उपभोग्य वस्तुमा परनिर्भर हाम्रो देशका लागि मुद्रस्फीति दर कम हुनु खुशीको कुरा हो । मुद्रास्फीति दर कम भएमा पैसाको क्रयशक्ति बढ्छ । यसो हुँदा नागरिकले पहिलेभन्दा धेरै वस्तु तथा सेवा खरीद गर्न सक्छन् । यसले नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ, बचतकर्ताले गरेको बचतको वास्तविक मूल्य पनि घट्दैन । मुद्रास्फीति दर उच्च भएमा बचतको मूल्य कम हुँदै जान्छ, जसले बचतकर्ताहरूलाई घाटा पु¥याउँछ । अतः कम मुद्रास्फीति दरले बचतलाई प्रोत्साहन गर्छ । यसले अर्थतन्त्रमा ब्याजदरलाई नियन्त्रणमा राख्छ । यसो हुँदा कर्जा लिने नागरिक र व्यवसायीहरूलाई सस्तो दरमा ऋण लिन र आर्थिक गतिविधिमा सहभागी हुन सजिलो बनाउने हुँदा लगानी र रोजगारमा सकारात्मक प्रभाव पार्छ । त्यसैगरी, मूल्यमा स्थिरता हुँदा आर्थिक योजनाहरू बनाउन र लागत अनुमान गर्न सजिलो हुन्छ ।

मुलुकका दुई ठूला दल नेपाली काङ्ग्रेस र एमालेसहितको गठबन्धन सरकार स्थापना भएदेखि अर्थतन्त्रमा महŒवपूर्ण सकारात्मक सङ्केतहरू देखिएका छन् । यही सरकारको पालामा विदेशी मुद्रा सञ्चितिले रेकर्ड कायम गरेको समाचार आइसकेको छ । मुलुकका लागि डेढ वर्षलाई पुग्ने विदेशी मुद्रा सञ्चिति भइसकेको सार्वजनिक भए लगत्तै मुद्रास्फीति दरको सकारात्मक सन्देश आयो । यसैगरी, अर्थतन्त्रका हरेक सूचकाङ्कमा सुधार हुँदै जाने हो भने धेरै कुरामा आस गर्न सकिन्छ । मुलुक सञ्चालनको मेरुदण्ड अर्थतन्त्र हो । अर्थतन्त्रमा सुधार भए राज्यका सबै अङ्ग स्वस्फूर्तरूपमा चलायमान हुन थाल्छन् । हामीले जोसुकैले गरेका कुनै पनि राम्रो कामको प्रशंसा गर्नुपर्छ । आलोचना र समर्थन काममा आधारित हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here