प्रस, वीरगंज, २९ असोज/
वीरगंजमा बसोबास गर्ने मारवाडी समुदायले काठमाडौंस्थित पशुपति गौशाला घटनाको विरोधमा मङ्गलवार विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ ।
राणीसती अतिथि सदनबाट निकालिएको ¥याली नगरपरिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन बुझाइएको थियो ।
मारवाडी समाज सेवक सङ्घ, मारवाडी सेवा ट्रस्ट, टिबडेवाला धमार्थ ट्रस्ट, वीरगंज जीतपुर गौशाला, जैन श्वेताम्बर सभा, महेश्वरी समाज वीरगंजको संयुक्त आयोजनामा विरोध ¥याली निकालिएको थियो ।
मारवाडी सेवा ट्रस्ट वीरगंजका बाबुलाल चाचानले ज्ञापन बुझाउँदै राणाकालमा जुद्ध शम्शेरको कालमा विक्रम संवत् १९९७ देखि मारवाडी समाजले पशुपति गौशालाको जिम्मेवारी वहन गर्दै आएको बताए । उनले बुझाएको ज्ञापनमा ८४ वर्षदेखि मारवाडी समाजको रेखदेखमा रहेको सो स्थानमा समाजका मानिसहरूले नै गौशाला र धर्मशाला निर्माण गरेर सेवा दिंदै आएको उल्लेख छ । ज्ञापनमा पशुपतिनाथको मन्दिरलाई अनवरत् निश्शुल्क दैनिक २९ लिटर दूध, निश्शुल्क शववाहन सेवा, शव कुलिङ गृह, कृत्रिम खुट्टा वितरण, स्वास्थ्य शिविर, शनिवार असहायहरूलाई निश्शुल्क भोजन, डायलासिस र तीर्थयात्रीहरूलाई सहुलियत मूल्यमा आवास र भोजनको व्यवस्था गर्दै आएको उल्लेख छ ।
यसैगरी पछिल्लो समयमा पशुपति विकास कोष र समाजबीचको विवाद २०६० जेठमा अख्तियार, उच्च अदालतपछि सर्वाेच्च अदालतसम्म पुगेकोमा २०८० साउन १७ गते कोषले एकतर्फीरूपमा सम्झौता खारेज गरेको विरुद्धमा समाजले साउन २४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको र सो सम्बन्धमा अदालतले यही असोज १६ गते कोषको हकमा फैसला गरेकोमा सोविरुद्ध उच्चमा जाने अवस्था विद्यमान रहे पनि असोज १७ गतेदेखि घटस्थापना परेर अदालत बिदा भएको र बिदा अवधिमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा दर्ता नहुने अवसरको फाइदा उठाएर काठमाडौं महानगरपालिकाले पशुपति धर्मशाला खाली गराएकोमा विज्ञप्तिमा आपत्ति जनाइएको छ । विज्ञप्तिमार्फत प्रधानमन्त्रीलाई यस विषयको गम्भीरतालाई ध्यानमा राख्दै आवश्यक कदम चाल्न आग्रह गरिएको छ । ज्ञापन बुझाउन वीरगंजमा बसोबास गर्दै आएका मारवाडी समुदायको ठूलो सङ्ख्यामा सहभागिता थियो ।