प्रस, पंचगावाँ, १० असोज/
दुईजना बालकलाई ललाइफकाइ भारततर्फ लैजाने प्रयासमा रहेका जीराभवानी गाउँपालिका–३ जीतपुरका २५ वर्षीय युवक प्रभानन्द राउत थारूलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।
हिजो राति ८ बजे थारूलाई परसवाबाट स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको शम्भु साहले बताए । हिजो दिउँसोदेखि उनका आठ वर्षीय छोरा बिर्जुप्रसाद साह र धर्मवीर कुँवरका सात वर्षीय छोरा राजवीर कुँवर हराएका थिए ।
हिजो रातिसम्म उनीहरू घर नफर्किएपछि अभिभावकहरू खोजीमा निस्किएका थिए । सो क्रममा अभिभावकहरूले खोजीको लागि अन्य गाउँका इष्टमित्र तथा प्रहरीलाई फोन गरी जानकारी गराएका थिए । खोजीकै क्रममा परसवाका स्थानीयले प्रभानन्दराउत थारू र दुईजना बालकलाई अभिभावकको जिम्मा लगाएका थिए । बालकहरूलाई थारूले दिउँसैदेखि चकलेट, फ्रुटी जुस खुवाएर ललाइफकाइ परसवामा मेमोरी कार्ड किन्न लैजाने भनेर लगेका थिए ।
दुईमध्ये एकजना बालक जान नमानेपछि उनलाई थारूले लट्ठीले पिटेर डर देखाइ लगेको बालकहरूले बताएका छन् । परसवामा थारूले बालकहरूलाई नास्ता खुवाएर पिडारी हँुदै भारतको सीमामा पर्ने दशौता साइकलमा लगेको बालकहरूले बताए । तर सीमामा दुई देशका सुरक्षाकर्मीका कारण थारूले पुनः फर्काएर परसवा बजारमा ल्याएर आफूहरूलाई खाजा खुवाएको र थारूले रक्सी खाएको बालकहरूले बताए । त्यसपछि थारूलाई स्थानीयले नियन्त्रणमा लिएर बालकहरूलाई अभिभावकको जिम्मा लगाएका थिए । स्थानीयले थारूलाई प्रहरीको जिम्मा लगाएका थिए । इलाका प्रहरी कार्यालय, सेढवाले हिजो राति थारू मदिरामा मात्तिएकाले बयान लिन नसकिएको बताए ।