प्रस, परवानीपुर, ९ असोज/
नजीकिंदै गरेको दशैंमा प्रत्येक वर्षझैं यस वर्ष पनि गाउँघरका टोलहरूमा दुर्गा पूजाको तयारी थालिएको छ ।

असोज १७ गते घटस्थापना परेको छ । सोको एक महीना अघिदेखि पर्सा र बारामा दुर्गा पूजाको तयारी थालिएको छ ।

प्रत्येक वर्ष धूमधामका साथ दुर्गापूजा गर्ने क्रम बढ्दै गएको छ । विभिन्न स्थानमा साजसज्जा गरिएको दुर्गापूजा अहिले ठूलो खर्चमा गर्ने प्रतिस्पर्धा चलेको छ । पण्डाल लगाएर झिलिमिली बत्तीले सजाएर कारीगरद्वारा आकर्षक दुर्गामाताको बडेमाका मूर्तिहरू बनाउने क्रम बढेको छ ।

हिन्दू धर्मावलम्बीहरू आफ्नो धर्म र र पर्वप्रति आस्था र श्रद्धा राख्ने गरेका कारण पूजापाठका यस्ता कार्यक्रममा वृद्धि भएको परवानीपुरका पुरोहित दिलीप उपाध्यायले बताए । परवानीपुर बजारमा अहिले दुई ठाउँमा दुर्गापूजाको तयारी थालिएको छ । वीरगंज महानगर–२१ पटेलनगरमा पनि दुई ठाउँमा दुर्गापूजा आयोजना भइरहेको छ ।

बाराको परवानीपुर गापा–४ चैनपुरमा विगत एक दशकभन्दा बढी समयदेखि दुर्गापूजा हुँदै आएको छ । वीरगंज महानगरका विभिन्न स्थानमा दुर्गापूजाको भव्य तयारी भइरहेको छ । गण्डकचोक, प्रतिमाचोक, नौतन गण्डक, श्रीपुर, भलुही, घण्टाघर, नगवा, रानीघाट, छपकैया, ड्राइपोर्ट, पोखरिया नपा–४ पोखरिया बजार, बाराको कलैया उपमहानगरपालिकालगायत विभिन्न स्थानमा दुर्गापूजा भव्यताका साथ मनाइने गरिएको छ ।

एक महीना अघिदेखि गाउँ, टोल वडाहरूमा दुर्गापूजा समिति गठन गरेर धूमधामका साथ पूजा गरिने दुर्गापूजा समिति पटेलनगरका अध्यक्ष रतन पटेल बताउँछन् । उनका अनुसार यस वर्ष करीब ८५ जना व्रतालुले पूजास्थलमा नवरात्रि पूजा आराधना गर्ने तयारी थालेका छन् । पूजामा करीब पाँच लाखभन्दा बढीको खर्च लाग्ने उनले बताए । चन्दादाताहरूको सहयोगमा सो स्थानमा एक दशक बढी समयदेखि दुर्गापूजा हुँदै आएको उनले बताए ।

वीरगंज–पथलैया औद्योगिक करिडोरका औद्योगिक प्रतिष्ठानमा दुर्गापूजाको लागि चन्दा सङ्कलन कार्य भइरहेको वीरगंज उद्योग वाणिज्य सङ्घका एकजना पदाधिकारीले बताए ।

उनले लामो समयदेखि पर्सा/बारा औद्योगिक करिडरमा दुर्गापूजालगायतका कार्यक्रममा चन्दा दिने कार्य हुँदै आएको बताए । उनले आर्थिक मन्दी भएपनि गच्छे अनुसारको सहयोग भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here