प्रस, वीरगंज, ६ असोज/
स्वास्थ्य लाइभ मिडियाको आयोजनामा सुरक्षित गर्भपतनका लागि जवाफदेहिता विषयक एक दिने अन्तत्र्रिmया आइतवार वीरगंजमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले जनचेतनाको कमीका कारण असुरक्षितरूपमा गर्भपतन गराउँदा अकालमा बर्सेनि सयौं महिलाहरूको मृत्यु हुने गरेको बताए । उनले कानूनले १२ हप्तासम्मको गर्भपतन गराउन मान्यता दिए पनि थाहा नभएर वा नजीकैको पसलबाट औषधि खरीद गरी खाने वा भारतमा जाने गरेका कारण महिलाहरूको जीवन असुरक्षित बन्दै गइरहेकाले युवायुवतीहरूलाई पहिलो चरणमा जनचेतना जगाउनु अहिलेको आवश्यकता भएको बताए । महानगरले नीति नै बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकामा जनशक्तिको अभावमा स्वास्थ्य सेवालाई घरघरसम्म पु¥याउन नसकेको नगरप्रमुख सिंहले दुःखेसो पोखे । उनले महानगरका ग्रामीण क्षेत्रभित्र बगही प्राथमिक स्वास्थ्य केन्द्रबाहेक गर्भपतन गर्ने अन्य संस्था नरहेकामा इच्छुक संस्था सूचीकृत हुन चाहेमा स्वीकृति दिन महानगर तयार रहेको बताए ।

पर्सा जिल्लाभरिमा नारायणी अस्पताल, मेरि स्टोप्स, ओम हस्पिटल, मेरी सर्भिस, बगही, सखुवाप्रसौनी, पोखरिया, बगवाना आदि ठाउँलाई सुरक्षित गर्भपतन गराउन अधिकार प्रत्यायोजन गरिएको स्वास्थ्य कार्यालयकी अधिकृत मीरा यादवले जानकारी गराइन् । स्वास्थ्य कार्यालय पर्साले उपलब्ध गराएको तथ्याङ्कमा पर्सामा गत आर्थिक वर्षमा एक हजार ६७१ जना महिलाले सुरक्षित गर्भपतन गराएको उल्लेख छ । पर्सामा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको छ । तर जनचेतना अभावमा अहिले पनि केही महीलाहरूले विभिन्न खाले वैकल्पिक उपाय गर्न थाल्दा मृत्युको मुखसम्म पुग्ने गरेको अधिकृत यादवको भनाइ थियो । अधिकृत यादवका अनुसार पर्सामा गत आर्थिक वर्षमा २० वर्षमुनिका १३७ जना युवतीले सुरक्षित गर्भपतन गराएका थिए भने २० वर्षमाथि उमेरका एक हजार ५३४ जना महिलाले सुरक्षित गर्भपतन गराएका थिए ।

तीमध्ये १२ हप्तासम्मको गर्भपतन गराउनेको सङ्ख्या एक हजार ६२६ छ भने १२ हप्ताभन्दा बढीको गर्भपतन गराउनेको सङ्ख्या ४५ मात्र रहेको यादवले जानकारी दिइन् । पर्सामा सुरक्षित गर्भपतनका बारेमा नागरिकमा सचेतना बढ्दै गएका कारण यो सेवा लिनेहरूको सङ्ख्या बढिरहेको अधिकृत यादवले बताइन् । १४ वटै पालिकामा किशोरकिशोरलाई असुरक्षित यौनसम्पर्क, यसले पार्ने असरका साथै सुरक्षित गर्भपतनबारे सचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ ।

स्वास्थ्य लाइभ मिडियाका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयकी नर्सिङ अधिकृत आरती ठाकुर, नारायणी अस्पतालकी प्रसूतिरोग विशेषज्ञ डा मञ्जु राउत, वीरगंज महानगर स्वास्थ्य महाशाखाका अधिकृत इन्द्रा लोहनी, मेरी स्टोप्सका प्रबन्धक कुमार आचार्य लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here