धर्मेन्द्र चौरसिया, पोखरिया, ५ असोज/
पर्सा जिल्लाका दुई सरकारी अस्पतालले आमा सुरक्षा कार्यक्रमबापतको रकम नदिएको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
चालू आवको साउन महीनादेखि सङ्घ सरकार अन्तर्गतको नारायणी अस्पताल र स्थानीय सरकार अन्तर्गतको पोखरिया अस्पतालले आमा सुरक्षा कार्यक्रम अन्तर्गतको रकम वितरण बन्द गरेको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
गर्भवती महिलाहरू सुत्केरी भएपछि प्रोत्साहनबापत सरकारले प्रतिसुत्केरी महिला एक हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । अस्पतालमा सुत्केरी हुनेलाई यो सुविधा उपलब्ध भएपनि विगत केही वर्षदेखि यो कार्यक्रम निजी अस्पतालहरूलाई पनि उपलब्ध छ ।
निजी अस्पतालहरूमा प्रोत्साहनबापतको यो रकम उपलब्ध गराइन्छ तर सामुदायिक अस्पतालहरूले भने साउनदेखि यो प्रोत्साहन रकम नदिएको सेवाग्राहीहरूले बताए ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ऐनामुल हकले साउन महीनामा रोकिएको प्रोत्साहन रकम अहिले उपलब्ध गराइएको बताए । उनले नारायणीमा मासिक साढे छ सयजना गर्भवती महिला सुत्केरी हुने गरेको बताए । सो अवधिमा सुत्केरी भएर रकम नपाएकाहरूलाई टोकन दिएर पछि उपलब्ध गराउने वातावरण बनाएको उनले बताए । तर एकजना कर्मचारीले भने त्यसरी टोकन लिएर जानेहरूमध्ये अहिलेसम्म २५ प्रतिशत पनि सो रकम लिन नआएका र पछि सम्बन्धित शाखाका कर्मचारीहरूको मिलेमतोमा अनियमितता हुने गरेको बताए ।
आमा सुरक्षा कार्यक्रम अन्तर्गतको प्रोत्साहनबापतको रकम सरकारको सशर्त अनुदान हो । यो शीर्षकको रकम अस्पतालले अन्य शीर्षकमा खर्च गर्न सक्दैन तर अन्य शीर्षकको रकम खर्चेर प्रोत्साहनबापतको रकम सरकारले पठाएपछि मिलान गर्न सक्छ । यसरी मिलान गरेर सुत्केरीलाई रकम उपलब्ध नगराइएको कारण यो शीर्षकमा दुई महीनाको रकममा अनियमितता हुने सम्भावना रहेको ती कर्मचारीले बताए ।
यता पोखरिया अस्पतालमा भने अहिलेसम्म यो सुविधा दिइएको छैन । निमित्त मेसु डा अनिल यादवले आमा सुरक्षा कार्यक्रममा साउनदेखि असोज ५ गतेसम्म प्रोत्साहनबापत रु एक हजार उपलब्ध गराउन नसकिएको बताए । उनले सोबापतको रकम सरकारले नपठाएकोले उपलब्ध नगराएको बताएका छन् । पोखरिया अस्पतालमा साउनदेखि अहिलेसम्म २०९ जना गर्भवती महिला सुत्केरी भएका छन् । उनीहरूलाई बजेट आएपछि रकम उपलब्ध गराउने गरी टोकन दिएर पठाएको निमित्त मेसु डा यादवले बताए ।