प्रस, वीरगंज, ४ असोज/
पर्सा जिल्लाका १४ वटा पालिकामध्ये असोज ४ गते शुक्रवारसम्म चारवटा पालिकाको मात्र बजेट निकासा भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साका मनीष गौतमले भदौ २३ गतेसम्म सखुवाप्रसौनी गापा मात्रको बजेट निकासा भएकोमा अहिले वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका र पटेर्वासुगौली गापा गरी चारवटा पालिकाको मात्र खाता सञ्चालनमा आएको बताए । सरकारले दिने अनुदान सहयोग त्रैमासिकरूपमा कोलेनिकामार्फत पालिकाहरूको खातामा जान्छ तर मन्त्रालयले पर्सा जिल्लाका १० वटा पालिकालाई अहिलेसम्म खाता सञ्चालनको सुविधा प्रदान गरेको छैन ।
यसो गर्नुको कारण १० वटा पालिकाले अहिलेसम्म मन्त्रालयलाई नगर/गाउँ सभा गरेको विवरण अद्यावधिक गराएका छैनन् । असार ९ र १० गते पर्साका केही पालिकाहरूले नगर/गाउँ सभा सम्पन्न गरेका थिए । त्यसपछि आज शुक्रवार धोबिनी गाउँपालिकाले गाउँसभा गरेपछि अब बहुदरमाई नगरपालिकाको मात्र नगरसभा हुन बाँकी छ । नगर/गाउँ सभा सम्पन्न गरेको जानकारी मन्त्रालयलाई गराएका पालिकाहरूको हकमा मात्र मन्त्रालयले बजेट निकासाको लागि बाटो खुला गर्छ ।
पर्सामा हालसम्म १३ वटा पालिकाको नगर/गाउँ सभा सम्पन्न भएपनि मन्त्रालयमा भने चारवटाको मात्र सूची पेश भएको छ ।
नगर/गाउँ सभा गरेका पालिकाहरूले बजेट विनियोजन गरेका वडाहरूका साथै नगर/गाउँ स्तरीय योजनाहरूको पनि सूची मन्त्रालयमा पठाएको खण्डमा मात्र उनीहरूको बजेट निकासा हुन्छ ।
वीरगंज महानगरपालिका, पोखरिया र पर्सागढी नगरपालिका, विन्ध्यवासिनी, छिपहरमाई, पकाहामैनपुर, जगरनाथपुर, ठोरी, जीराभवानी, पटेर्वासुगौली, कालिकामाई र धोबिनी गापा गरी १३ वटा पालिकाले नगर/गाउँ सभा गरे, बजेट बनाए तर वडा र नगरस्तरीय बजेट कुन शीर्षकमा कति छुट्टाएका थिए स्पष्ट पारेका थिएनन् । हालै वीरगंज, पटेर्वासुगौली र पोखरिया नपाले यो प्रक्रिया पूरा गरेका छन् र उनीहरूको खाता सञ्चालनमा आएको कोलेनिका, पर्सा कर्मचारी गौतमले बताए ।