प्रस, जनकपुरधाम, ३ असोज/
संविधान जारी भएपश्चात् भएका उपलब्धिहरूलाई संस्थागत गरी अघि बढ्नुपर्ने आजको आवश्यकता भएको मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बताएका छन् ।

संविधान दिवसको अवसरमा प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले बिहीवार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिंहले संविधानमा त्रुटि छ भने त्यसलाई संशोधन गरी अघि बढ्नुपर्ने विचार व्यक्त गर्दै विभिन्न आन्दोलन र बलिदानीबाट प्राप्त सङ्घीयता कसैले भन्दैमा समाप्त नहुने स्पष्ट पारे । सङ्घीयता लागू भएको सात वर्ष मात्रै भएको र प्रदेशले क्रमशः अधिकारहरू प्राप्त गरिरहेकाले अधैर्य नहुन उनको आग्रह थियो ।

मुख्यमन्त्री सिंहले मुलुकमा विकास निर्माणलगायत जे जति उपलब्धि भएका छन्, ती सबै सङ्घीयताको देन भएकाले संविधानको मर्म तथा भावना एवं मूलमन्त्र अनुसार अगाडि बढेमा मुलुकको समृद्धि निश्चित रहेको दाबी गरेका छन् ।

प्रदेशमा आफ्नो प्रहरी, प्रशासन नभएसम्म सुशासन कायम गर्न चुनौती रहेको बताउँदै उनले शिक्षामा सुधारका लागि शिक्षक भर्नाको अधिकार प्रदेशलाई दिनुपर्ने तर्क गरे ।

कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधान संशोधनको नाममा प्रतिगमनतर्फ फर्किन नहुने खबरदारी गर्दै अझै पनि मुलुकमा वर्तमान संविधान पूर्णरूपमा सुरक्षित भइनसकेको बताए ।

प्रदेश सभामुख मण्डलले वर्तमान संविधान विश्वकै उत्कृष्ट संविधान रहेको भन्दै यति राम्रो संविधानलाई प्रयोग गर्न प्रयोगकर्ता पनि इमानदार भइदिनुपर्ने बताए ।

कार्यक्रममा प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रदेशका मन्त्रीहरू, मन्त्रालयका सचिवहरू, चारवटै सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरू, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, पत्रकार, नागरिक समाजका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा कलाकारहरूले देशभक्तिका गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

यस अघि बिहान ७ बजे जनकपुरधामको रामानन्द चोकबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, शिक्षक, विद्यार्थीको सहभागिता थियो ।

मधेस प्रदेश सरकारले संविधान दिवस औपचारिकरूपमा पहिलोपटक मनाएको हो । यस अघिका प्रदेश सरकारहरूले वर्तमान संविधान अनुसार प्रदेश सरकारको कुर्सीमा बस्ने, सोही संवैधानिक व्यवस्था अनुसार पारिश्रमिक, भत्ता पनि खाने तर संविधान दिवस भने नमनाउने गर्दै आएका थिए ।

सङ्घीय सरकारका कारण सङ्घीयता कमजोर– मन्त्री काफ्ले
प्रस, परवानीपुर/
बाग्मती प्रदेशका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेले सङ्घ सरकारको कारण सङ्घीयता कमजोर भएको आरोप लगाएका छन् ।

वीरगंज उद्योग वाणिज्य सङ्घमा बिहीवार उद्योगी–व्यापारीहरूसँगको छलफलमा उनले सङ्घ सरकारले प्रदेश सरकारलाई राजस्व उठाउने दायरा निर्धारण नगरेको र प्रदेश सरकारलाई दिंदै आएको बजेटमा पनि बर्सेनि कटौती गर्दै आएको बताए । उनले प्रदेशले उठाउने राजस्वको अधिकार सुनिश्चित गरिनुपर्ने बताए ।

उनले वीरगंज देशको राजस्व सङ्कलन हुने प्रमुख स्थान भएको र यहाँ राजस्व घट्दा त्यसको असर देश र सातवटै प्रदेशमा पर्ने बताए । उनले वीरगंजका व्यापारीहरूलाई बाग्मती प्रदेशमा लगानी गर्नका लागि आग्रह गरे । प्रदेश सरकारबाट सक्दो सहयोग हुने आश्वासनसहित उनले बाग्मती प्रदेशमा लगानीका लागि आग्रह गरेका थिए ।

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालले पर्सा र बारामा रहेका उद्योगहरूको समस्यालाई सरकारले गम्भीरतापूर्वक नलिएको आरोप लगाए । उनले सरकारले केवल राजस्व सङ्कलन गर्ने थलोको रूपमा वीरगंज–पथलैया औद्योगिक कोरिडरलाई लिएको तर यहाँका समस्याहरू सम्बोधन गर्नै नचाहेको गुनासो गरे । राजस्वको दर बढाउने कार्य मात्र भएकाले उद्योगी, व्यापारीहरू मर्कामा परिरहेको उनले बताए ।

वरिष्ठ उपाध्यक्ष हरि गौतमले सीमापारिको बजार गुलजार भएको तर वीरगंजलगायत सीमा क्षेत्रका नेपाली बजारहरू सुक्दै गएको बताए । उनले सीमापारिबाट अहिले ८० प्रतिशत सामान तस्करी भई आइरहेका र २० प्रतिशत सामान मात्र भन्सार बिन्दुबाट आइरहेकाले राजस्व सङ्कलन प्रभावित भएको बताए ।

कोषाध्यक्ष शिवजी साह कलवारले चाडपर्वको समयमा चिनी, दालमा सरकारले १० प्रतिशत राजस्व र १० प्रतिशत अग्रिम आयकरको व्यवस्था गर्दा व्यापारीहरूलाई मर्का परेको बताए । व्यापार गरेर बाँच्ने सक्ने वातावरण सृजना नगर्ने हो भने अहिलेको अवस्थाभन्दा पनि झनै विकराल समस्या आउने चेतानवी दिए ।

महासचिव मनोज दासले बाग्मती सरकारले वीरगंज–काठमाडौं सडकखण्डलाई सुधार गर्नुपर्ने, द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि थप दबाब बनाउनुपर्ने सुझाए । ती योजनाहरूबाट बाग्मती प्रदेशलाई पर्यटनलगायत अन्य आर्थिक क्षेत्रमा टेवा पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा उपाध्यक्ष माधव राजपाल, सहसचिव प्रेमचन्द्र गोयललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बाग्मती प्रदेशका अर्थसचिव कृष्ण मैनालीको पनि सहभागिता थियो ।

देश समृद्ध नभएसम्म संविधानको विरोधमा आवाज कम नहुने –डा पुन
प्रस, निजगढ/
निजगढ नगरपालिकामा संविधान दिवस मनाइएको छ । कार्यक्रमकी प्रमुख अतिथि एवं मधेस प्रदेशसभा सदस्य माला लामाले संविधानले सबै नागरिकका हकअधिकार सुुनिश्चित गरेको बताइन् । उनले जारी संविधानलाई आत्मसात् गर्नाले देश समृद्धितर्फ अघि बढ्ने बताइन् ।

निजगढ नगरपालिका प्रमुुख सुरथ पुरीले शहीदहरूको बलिदान र आम नेपालीको सङ्घर्षबाट स्थापित संविधान अहिलेसम्मकै उत्कृष्ट भएको बताए । उनले संविधान लिखित दस्तावेज भएको र समयसापेक्ष संशोधन गर्न सकिने बताए । उपप्रमुख सोममाया थिङले संविधानले परिकल्पना गरेअनुरूप र जनताले चाहे अनुसार देश समृद्धितर्फ अघि बढ्न नसकेको बताउँदै संविधानको रक्षा गर्दै विकास कार्यमा अघि बढ्नुुको अर्को विकल्प नभएको बताइन् ।

नेपाली वैज्ञानिक डा महावीर पुनले विज्ञान प्रविधिको विकास र खोज, अनुसन्धान तथा आविष्कारविना मुलुकको विकास सम्भव नहुने बताए । उनले अनुसन्धान र आविष्कारमा मुलुकले लगानी गरेको खण्डमा त्यसको प्रतिफल विकासको रूपमा पाउने जिकिर गरे । उनले भने, “जबसम्म विकास र समृद्धि प्राप्त हुँदैन, तबसम्म संविधानको विरोधमा आवाज उठ्न कम हुँदैन ।

कार्यक्रममा जिल्ला समन्वय समिति, बाराकी उपप्रमुख चन्द्रिका उप्रेती, निजगढकी पूर्वउपप्रमुख लीलादेवी लामिछाने, वडाध्यक्ष स्वर्ण लामा, समाजसेवी नवराज तिमल्सिना, सन्तोष दङ्गाल, मोजहर मन्सुरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले स्वागत र अजय उप्रेतीले सहजीकरण गरेका थिए ।

प्रस, वीरगंज/
नेकपा एमाले पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस पार्टी कार्यालय मनमोहननगर वीरगंजमा कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य वीणा शर्माले झन्डात्तोलन गरेकी थिइन् । कार्यक्रममा अधिवक्ता हरेराम सर्राफले संविधान गतिशील दस्तावेज भएकोले समयानुकूल जनचाहना अनुसार संशोधन गर्न सकिने बताए । उनले संविधानको विषयमा विभिन्न खालका भ्रमको खेती गर्नेहरूसित सावधान रहन सचेत गरे ।

एमाले जिल्ला कमिटी पर्साका अध्यक्ष डा विश्वम्भरकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य मुन्तुरा चौधरी, जिल्ला कमिटी उपाध्यक्ष मनोजकुमार गुप्ताले संविधान दिवसको शुभकामना दिएका थिए । कार्यक्रमको सहजीकरण सचिव महेश दासले गरेका थिए ।

प्रस, सिम्रौनगढ/
सिम्रौनगढ नगरपालिका–७ स्थित सिम्रौनगढ नगरपालिका कार्यायलमा बिहीवार संविधान र राष्ट्रिय दिवस मनाइएको छ ।

नगरप्रमुख किशोरीप्रसाद कलवारले झन्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । उनले संविधान देशको लिखित दस्तावेज भएको बताए । उनले शासन व्यवस्था सञ्चालनका लागि बनेको लिखित दस्तावेज समयसापेक्ष संशोधन गर्न सकिने बताए । उनले संविधान त्रुटिपूर्ण बताउनेहरूले यसको संशोधनमा जोड दिनुपर्ने सुझाए । संविधान आफैंमा गलत हुँदैन, त्यसमा लेखिएका बुँदाहरूमा आपत्ति भए वा थप कुराहरू राख्नुपर्ने भए संशोधनको माध्यमबाट सच्याएर सबैलाई मान्य बनाउन सकिने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र साह, स्वास्थ्य संयोजक विजय ठाकुर, प्रशासनका राजेन्द्र साह, समाजसेवी शेख मोतिन, वडाध्यक्ष रामदिनेशप्रसाद यादवलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय, सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राई, सशस्त्र प्रहरी निरीक्षक माधव ढुङ्गेललगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण मणु यादवेन्द्रले गरेका थिए ।

प्रस, कलैया/
संविधान दिवसको उपलक्ष्यमा नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समिति बाराले रामराजा बहुमुखी क्याम्पसमा कार्यक्रम गरेको छ । नेविसङ्घ बाराका अध्यक्ष समीर चौधरीले राष्ट्रिय झन्डा फहराएका थिए ।

उनले नेविसङ्घले देशको झन्डा कहिले पनि झुक्न नदिने बताए । उनले संविधान रक्षाका लागि जुनसुकै बलिदान दिन पनि तयार रहेको बताए । देशमा परिवर्तनका लागि लड्दै आएको र आगामी दिनमा पनि आफ्नो कर्तव्य निर्वाहमा नेविसङ्घ पछि नपर्ने उनले बताए ।

कार्यक्रममा नेविसङ्घका शिव चौधरी, नेजामुद्दीन अन्सारी, त्रिभुवन विश्वविद्यालय स्ववियु एकाइ सभापति श्यामराज ओझा, अनिल खनाल, महान गिरी, बलिराम दास, मनीष चौधरी, प्रदीप यादव, नारायण रिमाल, राकेश राजपूत, निरोज थापा, राजु पटेल, दीपेन्द्र चौधरीलगायतको सहभागिता थियो ।

दिनेशकुमार मिश्र, वीरगंज/
पोखरिया नगरपालिकाको आयोजनामा बिहीवार संविधान दिवस र राष्ट्रिय दिवस मनाइएको छ । पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले दिवस मनाउने क्रममा झन्डोत्तोलन गरेका थिए ।

सो अवसरमा उनले राज्य सञ्चालन गर्न जनता आफैंले २०७२ असोज ३ गते संविधान जारी गरेको बताए । उनले संविधान गतिशील दस्तावेज भएकोले समयानुकूल र जनताको चाहना अनुसार संशोधन हुँदै आएको र आगामी दिनमा पनि हुने बताए । उनले एमाले–काङ्ग्रेस गठबन्धनको वर्तमान सरकार पनि संविधान संशोधनका लागि बनेको बताए ।

प्रस, पंचगावाँ/
सखुवाप्रसौनी गाउँपालिकाको आयोजनामा बिहीवार गापामा संविधान दिवस मनाइएको छ । कार्यक्रमको उद्घाटन झन्डा फहराएर, दीप प्रज्वलन गर्दै गापाध्यक्ष यशवन्त यादवले गरेका थिए । उनले नेपालको संविधान २०७२ देश र जनताप्रति पूर्ण समर्पित रहेको दाबी गरे । उनले संविधानमा छुटेका कुरालाई सरकारले क्रमशः सच्याउँदै जाने बताए । संविधान असंशोधित दस्तावेज होइन र यसलाई समय, काल र परिस्थिति अनुसार सच्याउँदै लैजानुपर्ने हुँदा नेपालको संविधान पनि सोही अनुसार सच्चिदै जाने र सबैका लागि मान्य हुने बनाइने बताए ।

कार्यक्रममा गापाध्यक्ष शर्मिला विष्ट महतो, इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापा, इलाका प्रहरी कार्यालय, एकटाँगाका प्रहरी नायब निरीक्षक अरविन्द यादव, सशस्त्र प्रहरी सुरक्षा बेस बागेश्वरी तित्रौनाका सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोलगायतको सहभागिता थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विजय चौरसियाले स्वागत र शाखा अधिकृत अरविन्द ठाकुरले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here