प्रस, वीरगंज, २९ भदौ/
तेरापन्थ युवक परिषदद्वारा जारी ११ दिने रक्तदान शिविर अन्तर्गत शनिवार पाँचौं दिन तेरापन्थ भवन वीरगंजमा सम्पन्न रक्तदान कार्यक्रममा १६ जना महिलासहित २११ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कार्यक्रमको उद्घाटन गर्दै तेरापन्थ युवकले आयोजना गरेको रक्तदानमा उत्साहजनक सहभागिताले आफू खुशी भएको बताए । उनले बिरामीको ज्यान जोगाउने विशुद्ध सामाजिक कार्यमा नगरवासीको सहयोगले आफू निकै उत्साही बनेको बताए ।

उनले तेरापन्थ युवक परिषद्को १५ सय पिन्ट रगत सङ्कलनको लक्ष्य पूरा हुने भन्दै शुभकामना व्यक्त गरे । तेरापन्थ युवक परिषद्का अध्यक्ष लोकेश जम्मडको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेल, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्याँसुद्दीन ठकुराई, वीरगंज कपडा बैंकका लालबाबू सिंहलगायतको सहभागिता थियो ।

कार्यक्रममा लक्ष्मी दुगड, रामाशङ्कर ठाकुर, रञ्जीत पोखरेल, रिसिका पोखरेल, विकास साह, दीपेन्द्र चौरसिया, निशा कार्की, विजय श्रीवास्तव, सङ्गीता शर्मा, गोपाल अग्रवाल, कुसुम जैन, रूबिका मोने, प्रकाश सर्राफ, सारिका अग्रवाल, प्रिया गुप्ता, अर्जुन कुर्मी, मन्नु बैठा, दीपक रौनियार, जयप्रकाश सोनी, मुकेश अग्रवाल, श्वेता वेज्ञानी, श्वेता श्रीवास्तव, पूजा दुगड, सङ्गीता सरावगी, खुश्बु अग्रवाल, चन्द्रप्रकाश अग्रवाल, लक्ष्मी राउत र दीपक वैद्यलगायतले रक्तदान गरेको केन्द्रका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए ।

प्राविधिक कुशवाहाले भदौ २५ देखि असोज ४ गतेसम्म ११ दिने रक्तदान शिविरमा तेरापन्थ युवक परिषद्ले १५ सय पिन्ट रगत सङ्कलनको लक्ष्य लिएको र आज पाँचौं दिनसम्म ६१९ पिन्ट रगत सङ्कलन भइसकेको जानकारी गराए ।

यसैबीच, शनिवार डाक्टर्स क्लब एन्ड जीमले वीरगंज महानगर–४ अमरचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित २२ जनाले रक्तदान गरेको केन्द्रका प्राविधिक मनीष कुमारले बताए ।

कार्यक्रममा सोनाली सिंह पटेल, रूसरफ प्रवीण, अफरोज अन्सारी, विश्वास लामा, शिवशङ्कर साह, निशान्त श्रीवास्तव लगायतले रक्तदान गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here