प्रस, वीरगंज, २८ भदौ/
नेपाल पत्रकार महासङ्घको निर्वाचन मिति पुनः सरेको छ । पछिल्लोपटक असोज ५ गतेका लागि तोकिएको पत्रकार महासङ्घको निर्वाचन शुक्रवार अर्काे सूचना जारी गर्दै कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्तिमार्फत अध्यक्ष विपुल पोखरेलको राजीनामापछि उत्पन्न अन्योलका बीच महासङ्घले निर्वाचनको नयाँ मिति प्रस्ताव गरेको जनाएका छन् ।
कार्यवाहक अध्यक्ष विष्टले १२ असोजमा निर्वाचन गर्नेगरी नयाँ तालिका ल्याउन शुक्रवार निर्वाचन समितिलाई पत्राचार गरिएको पनि बताए । यसअघि पटकपटक महासङ्घको निर्वाचन सरेपछि निर्वाचन कमिटीले राजीनामा दिएको थियो । तर सहज परिस्थिति बने निर्वाचन गराउने दायित्व वहन गर्ने भनिएकोले पुरानै निर्वाचन समितिलाई आज पत्राचार गरिएको हो ।
आगामी असोज ५ गते तीनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा अध्यक्ष विपुल पोखरेलले विभिन्न कारण देखाउँदै राजीनामा दिएपछि असहज परिस्थिति उत्पन्न भएको थियो । निर्वाचनको घोषित मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको कार्यवाहक अध्यक्ष विष्टले आज विज्ञप्ति जारी गर्दै भनेका छन् । उनले आजै निर्वाचन समितिलाई मतदाता नामावलीसमेत हस्तान्तरण गरिएको बताए ।
नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि केन्द्रीय साधारणसभा सम्पन्न भइसक्दा पनि मतदाता नामावलीमा भएको विवादका कारण निर्वाचन हुन सकेको छैन । अधिकांश जिल्लाका अध्यक्षहरूले जिल्लाबाट पठाइएको सदस्यता नामावलीमा केन्द्रले हस्तक्षेप गरेर आफूखुसी सिफारिशमा नपरेकाहरूलाई सदस्यता वितरण गरेको भन्दै विरोध गर्दै आएका छन् ।
उनीहरूले कार्यवाहक अध्यक्ष विष्टले भदौ २९ गते सदस्यता नामावली प्रकाशन हुने बताउँदा त्यसमा केन्द्रले थप गरेका नाम समावेश भए असोज १२ गते पनि निर्वाचन हुन नसक्ने बताए ।
पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले जिल्लाबाट सिफारिश भएकामा थपघट गर्नेबाहेक सीधा केन्द्रबाट थप गरिएका सदस्यहरू मान्य नहुने बताएका छन् । उनले यस अघिको पुरानो मतदाता नामावलीबाट निर्वाचन गराउने र नयाँ सदस्यहरूको हकमा निर्वाचनपछि निर्णय गर्ने वा नयाँ सदस्यको हकमा जिल्लाको निर्णय मान्यबाहेक अन्य विकल्पमा सोच्न नसकिने बताए । सदस्यतासम्बन्धी विवाद देशभरका शाखाहरूमा छ र मधेस प्रदेशका आठ जिल्लाका अध्यक्षहरूले यसबारेमा पटकपटक विज्ञप्ति जारी गर्दै आएका छन् ।