प्रस, वीरगंज, २८ भदौ/
वीरगंज महानगरपालिका–१७ अलौंस्थित एकीकृत सुरक्षा जाँच चौकी सडकमा सवारी दुर्घटनामा एकजनाको मृत्युको विषयलाई लिएर हिजोदेखि जारी प्रदर्शन शुक्रवार सहमतिमा स्थगन भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आज भएको वार्तामा ट्याङ्करको ठक्करबाट मृत्यु भएका युवकको परिवारलाई क्षतिपूर्ति दिनेलगायतमा सहमति भएपछि हिजो दिउँसोदेखि गरिएको प्रदर्शन आज सहमतिपछि दिउँसो २ बजेबाट स्थगित भएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको कार्यकक्षमा भएको वार्तामा मृतकका परिवारलाई क्षतिपूर्तिबापत १० लाख दिने, अस्पतालमा लागेको उपचार खर्च बेहोर्ने र दुर्घटनामा क्षतिग्रस्त मोटरसाइकल मर्मत गरिदिने सहमति भएको थियो ।

वार्तामा मृतक युवकका परिवारजन, यातायात व्यवसायी, नगरप्रमुख राजेशमान सिंह, प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, सप्रउ राधेश्याम धिमाललगायतको सहभागिता थियो । सहमति भएपछि शव नारायणी अस्पतालमा शल्यपरीक्षण गरेर परिवारजनले बुझेर अन्त्येष्टिका लागि लगेका छन् ।

वीरगंज–१७ अलौंस्थित एकीकृत सुरक्षा जाँच चौकीअगाडि हिजो दिउँसो साढे ३ बजेतिर ना.६ख ७५०३ नम्बरको ट्याङ्करको ठक्करबाट ना.२९प ६९५१ नम्बरको मोटरसाइकल चालक वीरगंज–१७ अलौंका २३ वर्षीय रविकुमार साह तुराहा गम्भीर घाइते भई उपचारको क्रममा राति साढे ८ बजे मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here