प्रस, वीरगंज, २८ भदौ/
पर्सा क्रिकेट सङ्घको वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । सङ्घका अध्यक्ष मनीष सिंहको अध्यक्षतामा भएको साधारणसभाको प्रमुख अतिथि क्रिकेट सङ्घ मधेस प्रदेशका सचिव सुवास जायसवालले उद्घाटन गरेका थिए । उनले पर्सा जिल्लाले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको उल्लेख गरे ।
कार्यक्रममा सङ्घका प्रशिक्षक उमेश उपाध्यायले क्रिकेटको प्रवद्र्धन गर्नु आवश्यक रहेको र यस दिशामा क्रिकेट सङ्घ नेपाल सही मार्गमा अघि बढिरहेको बताए । साधारणसभामा वासुदेवलाल कर्णले प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने बाबुजान अन्सारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा पर्सा क्रिकेट सङ्घले अध्यक्ष सिंहलाई क्रिकेट सङ्घ नेपाल अन्तर्गत राष्ट्रिय क्रिकेट विकास समितिमा मनोनीत भएकोमा बधाईसहित सम्मानित गरेको थियो । यसैगरी, मुर्तुजा हवारीलाई राष्ट्रिय छनोट समिति सदस्य र दाउद अन्सारीलाई क्रिकेट सङ्घ नेपालको क्रिकेट प्रतियोगिता समिति सदस्यमा चयन भएकोमा सम्मानित गरिएको थियो । यसैगरी, खेलाडी रञ्जीत कुमारलाई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलोपटक डेब्यू गरेबापत विशेषरूपमा सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा हीरालाल राउतले स्वागत र वासुदेवलाल कर्णले सहजीकरण गरेका थिए ।