प्रस, निजगढ, २६ भदौ/
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको दुधौरा खोलाको डाइभर्सनमा जडान गरिएको बेलिब्रिज कमजोर हुँदै गएको छ ।
बेलिब्रिजमा जडान भएका कतिपय नटबोल्ट खुस्किएको अवस्थामा छन् भने सवारीसाधन गुड्ने कतिपय फलामे पाताहरूमा प्वाल पनि परेका छन् र अधिकांश पाता हल्लिएर कमजोर भइसकेका छन् ।
कमजोर भएको बेलिब्रिजबाट दुर्घटना हुन सक्ने सम्भावना अधिक बन्दै गएको छ । खोला पार गर्न बेलिब्रिजबाट डर, त्रास मानी जानुुको अर्को विकल्प छैन । वीरगंजदेखि जनकपुुर आवतजावत गर्ने एक यात्रुवाहक बसचालकले बताए । एक वर्ष अघिसम्म यो बेलिब्रिज ठीकै थियो । तर अहिले भने डरलाग्दो अवस्थामा पुगिसक्दा पनि सम्बन्धित निकाय मौन छ ।
गाडीको चक्का बेलिब्रिजमा पर्दा मुटुूले ठाउँ छोड्न थाल्छ, यो बाटो दैनिक मालवाहक ट्रक सञ्चालन गर्दै आएका अर्का एकजना चालकले बताए । उनले बेलिब्रिजको यात्रा गर्दा भगवान्लाई सम्झँदै पार गर्ने गरेको बताए ।
बेलिब्रिज अलि वरपर राजमार्गमा ट्राफिक चेकिङ हुन्छ । तर कमजोर बेलिब्रिज मर्मत गर्न सम्बन्धित निकायलाई ट्राफिक प्रहरीहरूले हालको पुलको अवस्थालाई हेर्दा जानकारी गराएको देखिन्न । बेलिब्रिजबाट सवारीसाधनहरू सञ्चालन बन्द हुने हो भने डाइभर्सनबाट सञ्चालन गर्न झनै कठिनाइ छ । ठाउँठाउँमा खाल्डाखुल्डी यतिका छन् कि सवारीसाधनहरू सञ्चालन गर्न सकिंदैन ।
बेलिब्रिजको अवस्था जीर्ण बन्दै गएको कारण चार महीनापछि अहिले डाइभर्सनका खाल्डाखुल्डी पुर्ने कार्य भएको छ, त्यो पनि आधा अधूरो पारामा । करीब तीन किलोमिटरनजीकै बाराको पथलैयामा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, मधेस प्रदेश कार्यालय छ । यही बेलिब्रिज र डाइभर्सन हँुदै ट्राफिक प्रहरीहरूको समेत आवतजावत हुन्छ । तर पनि बेलिब्रिज र डाइभर्सनमा चरम लापरवाही र बेवास्ता छ ।
दुर्घटना हुन सक्ने स्थानहरूको बेलैमा यकीन गरी सम्बन्धित सरोकारवाला निकायमा मर्मतसम्भारको लागि पहल गर्नमा ध्यान जानुुपर्ने हो ।
पुुलको काम अलपत्र छोडेर महीनौं दिनसम्म लापता भएको ठेकेदार कम्पनीविरुद्ध बाराका सांसद कृष्णकुुमार श्रेष्ठले मन्त्रालयमा गएर यथाशीघ्र पुल निर्माण गराउन पहल गरेपछि पुनः निर्माण कार्य शुुरू भएको छ तर कछुवा चालमा भइरहेको पुल निर्माण आगामी वर्षमा पनि पूरा हुने सम्भावना देखिन्न । सांसद श्रेष्ठले संसद्मा सरकारले भुक्तानी नदिने, ठेकेदारले काम नगर्ने अनि जनताबाट गाली भने जनप्रतिनिधिहरूले खानुपर्ने विचित्रको अवस्था रहेको उनले टिप्पणी गरेका थिए ।
दुधौरा पुल निर्माण कार्य गर्न महादेव/खिम्ती/हीराचन जेभी काठमाडौंले तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी ठेक्का सकार गरेको थियो । सरकार र ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण २०७७ सालमा निर्माण सम्पन्न भइसक्नुपर्ने पुल अहिले २०८१ भदौ महीना बित्नै लाग्दासम्म पूरा भएको छैन ।
हालसम्म दुुधौरा पुुलको कार्यप्रगति बढीमा ८५ प्रतिशत सकिएको देखिन्छ । बाँकी १५ प्रतिशत काम सम्पन्न गर्न अझै कति समय लाग्ला बुझिनसक्नुभएको छ ।
तोकिएको समयभित्र काम सम्पन्न नहुने देखेपछि दुधौरा पुल निर्माण कम्पनी महादेव/खिम्ती/हीराचन जेभी काठमाडौंलाई अन्तिमपटक समय थप भन्दै पुल सेक्टर काठमाडौंले २०८१ साउन मसान्तसम्म म्याद बढाएको थियो । तर सो अवधिमा पनि कार्य सम्पन्न भएन । ठेकेदार कम्पनीलाई पर्याप्त समय प्रदान गरिएको तर पनि समयमा काम सम्पन्न नगरेको पुल सेक्टर काठमाडौंका इन्जिनीयर नितेश झा बताउँछन् । उनले अब यो पुल निर्माण अवधि आगामी मङ्सिर मसान्तसम्म थपिएको बताए । उनले पुलको स्थलगत अनुगमन गर्दै समयमा बन्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताए ।
ठेकेदार कम्पनी महादेव/खिम्ती/ हीराचन जेभी काठमाडौं र पुल विभाग महाशाखा काठमाडौंको जुहारीले दुधौरा खोला डाइभर्सन भएर आवतजावत गर्ने यात्रुहरूले दैनिक सास्ती भोग्दै आइरहेको स्थानीय अटोचालक जीतबहादुर खत्री बताउँछन् ।
ठेक्का सम्झौता अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भएपनि सरकार र पुुल सेक्टरले दुई वर्ष ढिलो गरी बेलिब्रिज उपलब्ध गरायो । जसका कारण जीर्ण अवस्थामा रहेको पुरानो पुललाई भत्काउँदा सवारीसाधन आवागमनमा कठिनाइ हुने हुँदा पुल भत्काउन ढिला भएकोले निर्माण कार्यमा बाधा परेको ठेकेदार कम्पनीका इन्जिनीयर अजयकुमार झाले बताए ।
ठेकेदार कम्पनीले चार लेन, दुई स्पान, ९० मिटर लम्बाइको उक्त पुल निर्माण सम्पन्न गर्न मूल्य अभिवृद्धि करबाहेक १५ करोड २२ लाखमा ठेक्का सकार गरेको पुल विभाग महाशाखा काठमाडौंले जनाएको छ । यस अघि ठेकेदार कम्पनीले आफूले सम्पन्न गरि सकेको कामको भुक्तानी सरकारले नदिएको भन्दै सरकारकै आलोचना हुने गरी सार्वजनिकरूपमा बोर्ड राखेर यात्रुहरूलाई रकम भुक्तानीमा सरकारसँग पहल गरिदिन आग्रह गरेको थियो ।