प्रस, वीरगंज, २६ भदौ/
धोबिनी गाउँपालिकाका जनप्रतिनिधिहरूका कारण हालसम्म पालिकाको बजेट सार्वजनिकीकरण नभएको भन्दै स्थानीयले बुधवार गापाध्यक्ष मदन चौहानलाई ज्ञापनपत्र बुझाएका छन् ।

गापा कार्यालयमा पुगी चालू आवका लागि बजेट पारित नगरे आफूहरू चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको लोसपाका नेता ललन कुर्मीले बताए ।

उनले निर्वाचित जनप्रतिनिधिहरूको झगडाका कारण बजेट पारित नभएको र अहिले रकम अभावमा विद्यालयमा बालबालिकाको दिवाखाजासमेत रोकिएको बताए । उनले समयमा बजेट पारित नहुँदा सङ्घ तथा प्रदेश सरकारले दिने अनुदान रकम बर्सनि कटौती हुँदै आएको बताए ।

नेताहरूको आपसी विवादका कारण आम जनता मारमा परेको उनले बताए । गापाको विकासका लागि बजेट सार्वजनिकीकरण आवश्यक भएको भन्दै उनले गापाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारको ध्यानाकर्षण गराएको बताए ।

उनले यसै महीनाको मसान्तसम्म बजेट सार्वजनिक नगरे असोजमा गापा कार्यालयमा ताला लगाउने चेतावनी दिए । उनले टुक्रे योजना बन्द गरी गापामा ठोस योजनाहरू बनाउन, बालबालिका, युवा, वृद्ध, अपाङ्ग, महिला, दलित आदि मैत्री बजेट बनाउन ज्ञापनमा उल्लेख गरिएको बताए । यसैगरी, स्वास्थ्य चौकीमा एमबिबिएस अध्ययनरत चिकित्सक, प्याथलोजी सञ्चालन, सार्वजनिक अतिक्रमित जग्गा खाली गरी वृक्षारोपण, सामुदायिक विद्यालयहरूका भौतिक संरचनामा सुधार, विषयगत शिक्षकहरूको व्यवस्था, कृषिमा आधुनिकीकरणलगायतका विषय बजेटमा समावेश गरिनुपर्ने माग राखिएको बताए ।

ज्ञापनपत्र बुझाउन अम्बिका राउत कुर्मी, जङ्गबहादुर कुर्मी, महमद मेराजलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here