प्रस, निजगढ, २६ भदौ/
निजगढ नगरपालिका–९ भमरा टोल बस्ने ४५ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया पत्नी लक्ष्मी राईलाई वाइफाईको विषयलाई लिएर चर्केको विवादमा खुर्पा प्रहार गरी हत्या गरेका छन् ।
केही दिनदेखि घरको वाइफाईको रकम भुक्तानी नगरिएकाले बन्द भएको र सो विषयमा पत्नी लक्ष्मीलाई पति विमलले दबाब दिंदै आएका थिए । भुक्तानी नभएकोले बन्द नेटसेवा सञ्चालनका लागि पति विमलले पत्नी लक्ष्मीलाई दबाब दिंदै आएका र पत्नीले भने पैसा आएपछि जडान गर्ने भनेकी थिइन् ।
इलाका प्रहरी कार्यालय, निजगढका प्रहरी निरीक्षण सुमित कुशवाहाले प्रारम्भिक अनुसन्धानबाट वाइफाई जडानका विषयमा पति–पत्नीबीच विवाद भएको र सोही विषयमा उत्तेजित विमलले हिजो राति आठ बजे पत्नी लक्ष्मीमाथि खुर्पा प्रहार गरेको बुझिएको बताए ।
पतिको खुर्पा प्रहारबाट घाइते लक्ष्मीको हिजै राति निजगढ सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रनि कुशवाहाले बताए । उनले वाइफाईकै विवादमा विमलले घरछेउको शौचालयमा शौच गरिरहेकी लक्ष्मीमाथि खुर्पा प्रहार गरेको र घाँटी, हात र खुट्टा आदिमा खुर्पा लागेर घाइते लक्ष्मीको उपचारको क्रममा मृत्यु भएको उनले बताए ।
उनले शौचालयमा ढोका नभएको र पर्दाको आडमा शौच गरिरहेकी लक्ष्मीलाई भित्र पसेर विमलले खुर्पा प्रहार गरेको उनले प्रस्ट्याए । मृतक लक्ष्मी राई चार वर्षदेखि पहिलो पतिलाई छाडेर विमलसँग बस्दै आएकी थिइन् । प्रनि कुशवाहाले विमल पक्राउ परेका र उनलाई बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको बताए ।