प्रस, महोत्तरी, २६, भदौ/
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २ का अध्यक्ष मुकेशकुमार यादवको मृत्युबारे तत्काल अनुसन्धान गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारसँग आग्रह गरेका छन् ।
वडाध्यक्ष यादवको गत भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा शव फेला परेको थियो । यादवको स्मृतिमा बुधवार आयोजित श्रद्धाञ्जलिसभालमा अध्यक्ष प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।
मृतक यादवका परिवारजन र जिल्लास्थित राजनीतिक दलहरूले यादवको हत्या भएको हुन सक्ने आशङ्का गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् । घटनाको प्रकृति र घटनाक्रम हेर्दा हत्या भएको देखिने तर प्रहरीले अनुन्धानमा चासो नदेखाएको स्थानीयको गुनासो छ ।
यसै सन्दर्भमा आयोजित श्रद्धाञ्जलिसभामा निवर्तमान प्रधानमन्त्री प्रचण्डले यादवको निधनबारे उच्चस्तरीय छानबीनका लागि सरकारलाई आफूले भनिसकेको जानकारी गराउँदै फेरि पनि आग्रह गरिने बताए । “तब पनि लापरवाही गरियो भने परिणाम भयानक हुन सक्छ, सरकारलाई हेक्का रहोस्,” उनले चेतावनी दिए ।
घटनाको निष्पक्ष छानबीन हुनै पर्नेमा जोड दिंदै उनले स्थानीय जनसमुदायले निरन्तर आवाज उठाइरहन सुझाए । यसका लागि आवश्यक परे आन्दोलन पनि गर्नुपर्ने स्थिति आउन सक्ने प्रचण्डको भनाइ थियो । अध्यक्ष प्रचण्डले पतिवियोगमा रहेकी अध्यक्ष यादवकी पत्नीलाई अब राजनीतिक र सामाजिक काममा अघि बढ्न प्रेरित गर्नुपर्ने बताए ।
बितेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित वडाध्यक्ष यादव राजनीतिक कार्यकर्ता मात्र नभई मधेसको सामाजिक अभियन्ता पनि थिए भन्दै उनले यादवको स्मृतिमा फाउन्डेशन बनाउन र यादवका छोराछोरीको पठनपाठनको व्यवस्था मिलाउन प्रदेश र जिल्ला पार्टीलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा स्व यादवकी पत्नी आइती यादवले आफ्नो पतिको हत्या नै भएको आशङ्का छ भन्दै सत्यतथ्य छानबीनका लागि पहल गरिदिन माओवादी केन्द्र र पार्टी अध्यक्ष प्रचण्डलाई अनुरोध गरेकी थिइन् ।
श्रद्धाञ्जलिसभामा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरू अग्नि सापकोटा, जनार्दन शर्मा, गिरिराजमणि पोखरेललगायतको सहभागिता थियो ।