• सञ्जय साह मित्र

भदौ महीनालाई कतिपय सामाजिक तथा शुभ कार्यका लागि त्यति शुभ मानिंदैन । मुख्यगरी ग्रामीण समाजमा भदौ महीनामा कुनै नयाँ काम गर्नुहुँदैन भनिन्छ । तर यस प्रकारका विभिन्न सामाजिक मान्यतालाई एकातिर राखेर यदि धार्मिक दृष्टिकोणले हेर्ने हो भने भदौ महीनामा पनि विभिन्न धार्मिक यात्राहरू गर्ने गरिएको पाइन्छ । धार्मिक यात्रा गर्दा धेरैको रोजाइमा साउन महीनापछि भदौ नै आउँछ । अनि निकै महŒवपूर्ण चाडपर्व यसै महीनामा पर्दछ । भदौ महीनामा पर्ने चाडपर्वबारे भनिरहनु पर्दैन । भदौको शुक्लपक्षलाई चाडैचाडको पक्ष पनि भनिन्छ । शुक्लपक्षको शुरूआत भएकै दिनदेखि पूर्णिमासम्म अनेक चाडपर्व मनाइन्छ भने भदौ कृष्ण पक्षको अष्टमी तिथिमा सबै हिन्दूहरूले भगवान् श्रीकृष्णको जन्मदिवस भव्यतापूर्वक मनाउने गर्छन् । भगवान् श्रीकृष्णको जन्म भएको महीना त यतिकै पनि पवित्र महीना हुने भइ नै हाल्यो । साथै भगवान् श्रीकृष्णसित जहिले पनि जोडिएर अझ भगवान् श्रीकृष्णभन्दा पहिले आउने नाम हो राधा । भगवान् श्रीकृष्णको जन्म भएको भदौ कृष्ण अष्टमी तिथि हो भने यस तिथिलाई कृष्णाष्टमी भनिन्छ ।

भदौ महीनाकै शुक्लपक्षको अष्ठमी तिथिका दिन राधाको जन्म भएको थियो । राधाको जन्म भएको तिथिलाई राधाष्टमी पनि भनिन्छ । भनिन्छ, कृष्णको अर्थ कालो अर्थात् अँध्यारो हो भने शुक्लको अर्थ उज्यालो हो । भगवान् श्रीकृष्णको जन्म अँध्यारो पक्षमा भएको हो भने राधारानीको जन्म उज्यालो पक्षमा भएको हो । हाम्रो समाजमा सीताराम, गौरीशङ्कर जस्तै राधाकृष्ण भनिन्छ तर सीताराममा सीता र राम तथा गौरीशङ्करमा गौरी र शङ्करबीच जुन किसिमको सम्बन्ध छ, सोही किसिमको सम्बन्ध राधा र कृष्णबीच भने छैन । भगवान् श्रीकृष्ण र राधाबीचे जुन प्रेमको प्रसङ्ग आउँछ, त्यो दैहिक हो कि अलौकिक ? यो विषय धेरैलाई थाहा नभएको पनि हुन सक्छ ।

भगवान् श्रीकृष्णको जीवनका अनेक भाग छन् । उनले बाल्यकालमा जे गरे, त्यसको सम्बन्ध किशोर तथा युवा जीवनसित खासै रहेको पाइँदैन । उनको युवा व्यक्तित्वको खासै सम्बन्ध प्रौढ व्यक्तित्व सित छैन । यी सबै व्यावहारिक कुरा हुन् । आध्यात्मिक दृष्टिकोणले विचार गर्ने हो भने उनको सम्पूर्ण जीवन नै लीला हो । उनी आफैं सर्वेश्वर हुन् । यो पनि भन्ने गरिन्छ कि भगवान् श्रीकृष्ण नै यस्ता हुन् जो बारम्बार आपूmलाई भगवान् हुँ भन्छन् । विष्णुको अन्य अवतारमा यस्तो कथन वा भनाइ पाइन्न । श्रीकृष्णले बाल्यकालमा एकातिर खुब सङ्घर्ष गरे भने अर्कोतिर खुब मोजमस्ती पनि गरे । उनी गाई चराउन वन जाँदा होस् चाहे अन्य बाललीला गर्दा होस्, सधैं साथीहरूबीच रमाउँथे । भनिन्छ, गाई चराउँदाका बखत उनका सबैभन्दा निकटको मित्र वा साथी हुन् राधा र गुरुकुलमा विद्यार्जन गर्दाको अवस्थाका साथी हुन् सुदामा । जहाँ मित्रताको दृष्टान्त आउँछ त्यहाँ कृष्ण र सुदामाको मित्रताको प्रसङ्ग आउँछ नै । कृष्ण र सुदामाको मित्रताको उदाहरणविना मित्रताका सबै उदाहरण अधूरा बन्न पुग्दछन् । ठीक यस्तै जहाँ कुनै देवीदेवताको चित्र वा प्रतिमाको सन्दर्भ आउँछ, त्यहाँ कृष्णसित राधाकै प्रसङ्ग हुन्छ । जसरी भगवान् श्रीकृष्ण र सुदामा मित्र थिए त्यसरी नै श्रीकृष्ण र राधा पनि सखा थिए । दुवै अभिन्न बाल सखा थिए ।

जसरी बालबालिकामा हुन्छ, त्यसरी नै दुवै बालसखामा अनन्त प्रेम थियो । दुवै बालसखा कुनै विशेष परिस्थितिले अलग भए । सबैलाई थाहा छ, श्रीकृष्ण जब मामा कंलिाई मार्न हिंडेका थिए तब राधासित भेट भएको थियो र त्यही भेट अन्तिम थियो । राधा र श्रीकृष्णबीच लामो संवाद भएको थियो । राधा र श्रीकृष्णको जन्मथलो पनि एकै ठाउँ होइन । यद्यपि दुवै बाल सखा हुन् । अत्यन्त निकटका साथी हुन् । दुवै कति निकट थिए भने जति निकटको कल्पना गर्न सकिन्छ, अर्थात दुवैबीच कुनै दूरी थिएन । एक आत्मा र दुई शरीर जत्तिकै निकट थिए । एकलाई नहेरी अर्को जीवित नरहनेसम्म निकट थिए । जति नजीक दुनियाँले देख्ने किसिमको निकटता थियो, त्योभन्दा बढी निकट, दुनियाले देख्न नसक्ने किसिमले निकट थिए । यद्यपि श्रीकृष्ण जीवनीको एउटा विशिष्टता यो पनि छ कि जहाँ अति हुन्छ, त्यहाँबाट श्रीकृष्ण च्वाट्टै अलग्ग भइदिन्छन् ।

जब नन्दबाबाको घरबाट निस्के त्यसपछि राधा र श्रीकृष्णको भेट लामो समय भएन । कैयौं युगसम्म भएन । श्रीकृष्ण धेरै कठिन सङ्घर्षमा अल्झे । कंसको बध भएपछि श्रीकृष्णको जीवन राजनैतिक हुन पुग्यो । राजनीतिमा श्रीकृष्ण यति धेरै अल्झिए कि राधासित भेट गर्ने अवसर नै मिलेन । दुई चार वर्ष होइन, करीब असी वर्षसम्म दुवैको भेट हुन पाए । अब कल्पना गरौं जब कुनै दुई व्यक्तिबीच असी वर्षसम्म भेट हुँदैन भने दुवैजनाको अवस्था कस्तो भएको होला । महाभारत युद्ध समाप्त भइसकेर जब श्रीकृष्ण निकै निराश थिए तब उनलाई कोही भेट्न आएका् हुन्छ, अत्यन्त जीर्ण शरीर लिएर । उनी आँखाले देख्न नसक्ने अवस्थामा थिए । श्रीकृष्णको अगाडि परेपछि मात्र आगन्तुकलाई आभास हुन्छ कि म श्रीकृष्णको नजिक छु । उनी स्पर्श गर्छिन् । बाल्यकालको सम्झना ताजा हुन्छ । सम्भवतः राधाको भौतिक जीवनको यो अन्तिम क्षण हुन्छ । यसै भेटका लागि राधाको भौतिक शरीर बाँचेको हुन्छ । दुवैले वार्धक्यमा जिन्दगीको सार साटासाट गर्छन् । जीवनको मूल्यबारे छलफल गर्दछन् । महाभारत युद्धमा श्रीकृष्णले खेलेको भूमिकाभन्दा धेरै बढी आध्यात्मिक जानकारी राधालाई भइसकेको हुन्छ । राधाले त श्रीकृष्णलाई सानैदेखि भगवान्कै रूपमा स्वीकार गरेकी हुन्छिन् ।

राधा र श्रीकृष्णको युवावस्थामा भेट भएन । वृद्धावस्थामा भेट हुँदा पनि दुवैमा उत्तिकै प्रेम देखिन्छ । राधा केवल भगवान् श्रीकृष्णमा समर्पित हुन बाँचेकी थिइन् । यदि राधाको जीवनचरितको अध्ययन गर्ने हो भने राधाले गर्नुपरेको सङ्घर्ष कति विशाल छ । राधाको विवाह पनि भगवान् श्रीकृष्णसित भएको थिएन । राधा अविवाहित रहिन् भन्ने पनि होइन, उनको विवाह भएको थियो तर उनले आपूmलाई श्रीकृष्णमा समर्पित गरिसकेकी थिइन् ।

राधाले पनि आफ्नो जीवनमा जतिसुकै दुःख र कष्ट परे पनि जहाँ श्रीकृष्ण छन् एकपटक त्यहाँ पुग्ने धोको राखेकिथिइन । श्रीकृष्ण मनोयोगले आप्mनो कर्म गरून्, आपूmतिर ध्यान खिचिएर श्रीकृष्णको कर्ममा बाधा पर्छ भन्ने लागेको थियो होला । तर जीवन हो । समयको नदी निरन्तर बगिरहन्छ । एक दिन यस्तो लाग्न थाल्छ कि बिस्तारै आँखाले कम काम गरिरहेको छ, कानले कम सुनिरहेको छ, कुनै पनि कुराको स्वाद कम भइरहेको छ, दैहिक र भौतिक वस्तुप्रति आकर्षण घट्दो छ, अर्थात् अब शरीरको औचित्य कम हुन थालेको अनुभूति हुन्छ । अनि जीवनभन्दा यो भौतिक शरीरको परित्याग सहज लाग्न थाल्दछ । अब पनि श्रीकृष्णसित भेट नगर्ने ? यही विचार गरेर राधा भेट्न पुग्छिन् श्रीकृष्णलाई । यसरी पनि भन्न सकिन्छ, आप्mनो आत्मालाई सन्तुष्ट पार्दै श्रीकृष्णमा विलीन हुन चाहन्छिन् र जहाँ हुन्छन् श्रीकृष्ण, त्यहीं पुग्दछिन् । थाहा पाएको कुरा हो, नदी जतिसुकै ठूलो भए पनि अन्ततः विलीन हुने समुद्रमैं हो । समुद्र कहिल्यै आपूmमा समाहित गर्न नदीलाई खोज्दैन ।

श्रीकृष्णका अनेक गोपिनी र कैयौं पत्नीबीच राधाको नाम छैन । भगवान् श्रीकृष्णसित आत्मिक प्रेम गर्ने, भक्त र भगवानको पवित्र प्रेम भएकी पात्र हुन् राधा । राधाको जीवनको चर्चा श्रीकृष्णसँगै शुरू हुन्छ र श्रीकृष्णमैं गएर विलीन हुन्छ । राधासित श्रीकृष्णले प्रेम गरेका थिए कि लीला ? यो सामान्य नरले बुझ्न सक्ने विषय होइन, तर भनिन्छ राधाको प्रेम र समर्पण यस कोटिको थियो कि केवल राधा उच्चारण गर्दा श्रीकृष्ण उच्चारण भइसकेको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here