अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानून बनाउने घोषणा गरेका छन् । यसको उद्देश्य बालबालिकालाई सामाजिक सञ्जालबाट उत्पन्न मानसिक स्वास्थ्य समस्याहरूबाट जोगाउनु हो । बालबालिकाको सुरक्षाका लागि अभिभावकहरूको चिन्ता बढ्दै गएपछि प्रधानमन्त्रीको सम्बोधन आएको हो । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको प्रयोगले अस्ट्रेलियाका बालबालिकामा मानसिक स्वास्थ्यको जुन समस्या देखिएको छ, यस्तो समस्या नेपालमा पनि आउन सक्छ ? अर्थात् बालबालिकाको मानसिक स्वास्थ्यमा पर्ने असर कतिको घातक होला ? हाल अस्ट्रेलियाली अभिभावक बालबालिकामा देखिने कुन मानसिक समस्याबाट चिन्तित छन् त ? पछिल्लो घटनाले विभिन्न प्रश्न तथा चासो नेपाली अभिभावकहरूमा पनि बढाएको छ ।

सामाजिक सञ्जाल तथा डिजिटल उपकरणले मुख्यतः बालबालिकामा आत्मसम्मानमा कमी, एक्लोपनको भावना र अरूसँग तुलना गर्ने मनोवृत्ति निम्त्याउने विभिन्न अनुसन्धानले देखाएका छन् । बाल्यावस्थामा मस्तिष्कको विकास चलिरहने र त्यसले कुनै पनि कुरालाई फिल्टर नगरी जस्ताको त्यस्तै शीघ्र रेकर्ड गरेर भण्डारण गर्ने हुँदा बालबालिकामा पर्ने सकारात्मक वा नकारात्मक प्रभाव क्षणिक नभएर धेरै गहिरो र दीर्घकालीन हुन सक्छ । मनोरोग विशेषज्ञहरूले पनि सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिकामा आत्मग्लानि, चिन्ता र अवसादजस्ता मानसिक विकृतिहरू निम्त्याउने बारम्बार चेतावनी दिइरहेका छन् । उनीहरू आफूलाई अरूसँग तुलना गर्न थाल्छन्, जसको कारण आत्मसम्मानमा कमी महसूस गर्न थाल्छन् । सामाजिक सञ्जालले देखाउने आदर्श जीवनशैलीले बालबालिकामा असन्तुष्टिको भावना पैदा गर्छ, जसले दीर्घकालीनरूपमा मानसिक असन्तुष्टिले अस्वस्थता निम्त्याउँछ । उनीहरूले वास्तविकता र डिजिटल संसारबीचको भिन्नता बुझेका हुँदैनन्, जसले गर्दा उनीहरू हरेक कुरालार्ई वास्तविकरूपमा सम्झने हुँदा समस्या निम्तिने गरेको हो । मानसिक स्वास्थ्यमा समस्या आउन थालेपछि उनीहरूको व्यवहार विकृत हुँदै जाने र यसले आत्मकेन्द्रित सोचका साथै एकाग्रतामा -हास आउँछ ।

अस्टे«लियामा शारीरिक स्वास्थ्यको समस्याभन्दा बालबालिकामा मानसिक स्वास्थ्यको समस्या दर उच्च देखिएको छ । त्यहाँका मनोचिकित्सक, अभिभावक र सरकारको समेत चिन्ताको विषय सामाजिक सञ्जालको प्रयोग नियन्त्रण कसरी गर्ने भन्ने छ । हाम्रो मुलुकमा पनि यस्तो सम्भावना उच्च देखिन्छ । ग्रामीण क्षेत्र क्रमशः शहरीकरण हुँदैछ । इन्टरनेटको पहुँच दिनानुदिन बढ्दो छ । बालबालिका, किशोरकिशोरीहरू सामाजिक सञ्जालमा अत्यधिक संलग्न भइरहेका छन् । बालबालिकालाई घरभन्दा बाहिर राखेर पढाउने फेशन जस्तै बनेको हुँदा त्यहाँ अभिभावकको ध्यान पुग्न सकेको छैन । घरमैं रहेर पढ्ने बालबालिकाका अधिकांश अभिभावक वैदेशिक रोजगारमा रहन बाध्य छन् । कतिपय साधारण लेखपढ गर्न सक्ने अभिभावकले आफ्ना बालबालिका सामाजिक सञ्जाल किन छन् र कसरी प्रयोग गरिरहेका छन् भन्ने भेउ नपाउने हुँदा बालबालिका अभिभावकको निगरानीभन्दा बाहिर छ । परिणामस्वरूप केही वर्षयता विद्यालय शिक्षाको हरेक तहमा शिक्षाको गुणस्तर खस्किंदो छ भने बालबालिका तथा किशोरकिशोरीमा मनोरोगको समस्या वृद्धि भएको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here