प्रस, वीरगंज, ६ भदौ/
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मधेसवादी दलको भ्रष्ट चरित्रले आज मधेस बदनाम भएको आरोप लगाएका छन् ।
बिहीवार बाराको प्रसौनी गाउँपालिकामा आयोजित भेलामा उनले जनतालाई लुट्नु र ठग्नु मधेसी नेताहरूको पेशा भएको बताए ।
उनले छोरीलाई वितरण गरिने साइकलमा भ्रष्टाचार, दलितहरूको घर निर्माणमा भ्रष्टाचार, कृषकको अनुदानमा भ्रष्टाचार गर्ने मधेसी दलका नेताहरू भएको बताए । अध्यक्ष साहले मधेसवादी दलका नेताहरूको यस्तो कुकृत्यका कारण मधेस बदनाम भएको बताए ।
उनले मानव विकास सूचकाङ्कमा तल परेको मधेस प्रदेशमा जम्बो मन्त्रिमण्डल किन चाहियो भन्दै मधेसमा लुट मचाउन मधेसी दलका नेताहरू लागिपरेको बताए । भ्रष्टाचारबाहेक मधेस सरकारले कुनै काम गर्न नसकेको बताए ।
कुनै पनि सरकारको काम देश र जनतालाई समृद्ध बनाउने रहेको तर मधेस सरकारले हरेक योजनामा भ्रष्टाचार गरी लुट मचाएको बताए । अध्यक्ष साहले भ्रष्ट नेताहरूको अन्त्य र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए ।
उनले दलाल दलतन्त्रविरुद्धको जनआन्दोलनको तयारीमा जुट्न आह्वान गरे । उनले युवाहरू विदेशमा मर्नुपर्ने स्थितिको अन्त्यका लागि तेस्रो जनआन्दोलनको विकल्प नरहेको बताए ।
भ्रष्टाचारीहरू अहिले सम्मानित भइरहेका छन् तर स्वभिमानी युवाहरू अपमानित भई विदेशमा मर्नुपर्ने अवस्थाको अन्त्य हुनैपर्छ, उनको जिकिर थियो ।
आजपाका नेता गणेश रामको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, सचिव उमेश कुशवाहालगायतको सहभागिता थियो ।