परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको सप्ताहव्यापी भारत भ्रमणले दुई देशबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई अझ बढी सुदृढ बनाउनुका साथै नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेस र विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भारतीय जनता पार्टीबीच सम्बन्धलाई पनि बलियो बनाउने निश्चित छ । भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणमा भएको डा आरजु राणाको यस भारत भ्रमणमा दुर्ई देशका परस्पर हितसँग जोडिएका कतिपय विषयमा सहमति भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसित पनि उनको भेटवार्ता भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीसित भएको भेटवार्तामा नेपाल भारत सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको छ । भारतीय प्रधानमन्त्री मोदीले आप्mनो सामाजिक सञ्जाल एक्समा नेपाल र भारतले बहुआयामिक तथा प्रगतिशील साझेदारी तथा निकट सभ्यताको सम्बन्ध साझा गर्दछन् । हाम्रो विकास साझेदारीमा निरन्तर गतिको प्रगति रहेको उल्लेख गर्दै नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ भनेका छन् । त्यसैगरी नेपालका परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पनि आप्mनो सामाजिक सञ्जाल एक्समा आपूm र मोदीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताबारे छलफल गरेको उल्लेख गरेकी छन् । यस भ्रमणले हाम्रो उच्चस्तरीय भेटघाटले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरेकी छन् । परराष्ट्रमन्त्री डा देउवाले नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तोपत्र पनि मोदीलाई हस्तान्तरण गरिन् । मोदीले निमन्त्रणप्रति धन्यवाद व्यक्त गर्दै चाँडै नै नेपाल भ्रमणमा आउने इच्छा रहेको बताए । यस अघिका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मोदीको शपथग्रहणमा जेठ अन्तिम साता दिल्ली जाँदा पहिलो भ्रमण नेपालबाट नै गर्न अनुरोध गरेका थिए । मोदीले त्यस बेला पनि सकारात्मक जवाफ दिएका थिए ।
त्यसैगरी, परराष्ट्रमन्त्री डा देउवाको भारत भ्रमणमा उनका भारतीय समकक्षी डा एस जयशङ्करसित भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षमा समीक्षा भएको छ । खासगरी हालैका वर्षहरूमा भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूले जुन गति हासिल गरेको छ, त्यसप्रति सन्तोष व्यक्त गर्ने काम भयो । पूर्वाधार, अन्तर्देशीय रेलमार्ग, सडक र पुलसँग सम्बन्धित अन्य परियोजना, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटीलगायत कनेक्टिभिटीका भौतिक र डिजिटल साथै जनता–जनताबीचको सम्बन्धबारे पनि छलफल भएको छ । नेपाल र भारतबीच गहिरो ऐतिहासिक सभ्यतागत, सांस्कृतिक र जनता जनताबीचको सम्बन्ध घनिष्ठ र मैत्रीपूर्ण रहिआएका छन् । दुवै परराष्ट्र मन्त्रीबीच दुई पक्षीय छलफलमा दुई पक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायक सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका विषय प्रमुख थिए ।
नेपालले अब करीब १००० मेगावाट बिजुली निर्यात गर्न सक्ने र यसले नेपालको लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरूको सिर्जना गर्नेबारे चर्चा गर्दै दुवै मन्त्रीबीच ऊर्जा सहकार्यको क्षेत्रमा भएको प्रगतिका सम्बन्धमा पनि वार्ता भएको छ । यस सम्बन्धमा दुवै परराष्ट्र मन्त्रीले दीर्घकालीन ऊर्जा व्यापार सम्झौता कार्यान्वयनका कारण ऊर्जा सहकार्यको क्षेत्रमा अभूतपूर्व अवसर प्राप्त भएकोबारे छलफल गरे । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउँदा नेपाललाई ऊर्जा विकासमा ध्यान केन्द्रित गर्न सुझाव दिएका थिए । त्यति बेला नेपालमा चर्काे लोडसेडिङ हुने गर्दथ्यो । मोदीले त्यति बेलै भनेका थिए, तत्काल भारतले नेपालको अँध्यारो अन्त्य गर्न सहयोग गर्ने र पछि नेपालबाट उत्पादित बिजुली खरीद गरेर नेपालको आर्थिक विकासमा मदत गर्नेछ । भारतले त्यति बेलादेखि नेपालमा बिजुलीको निर्यात (बिक्री) गर्ने गरेको हो । नेपाल र भारतबीच विद्युत् विकास सम्झौता र विद्युत् व्यापार सम्झौता भएपछि प्रसारण लाइनको निर्माण पनि पूरा भएको छ । अब वर्षायाममा नेपालबाट उत्पादित बिजुली भारतमा निर्यात (बिक्री) भइरहेको छ र हिउँदमा भारतबाट नेपालमा बिजुलीको आयात (खरीद) भइरहेको छ । यस आर्थिक वर्षको दुई पक्षीय ऊर्जा व्यापारमा नेपाललाई १२ करोडको नाफा भएको छ र यो अब निरन्तर बढ्दै अर्बांै रुपियाँ पुग्नेछ । भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरीद गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अहिले नै नेपालले एक वर्षमा एक हजार मेगावाट बिजुली भारतलाई निर्यात (बिक्री) गर्ने अवस्था आइसकेको छ । यसलाई नेपालको ऊर्जा क्षेत्रमा भएको ठूलो प्रगतिको रूपमा बुझ्न सकिन्छ । भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत् खरीदका लागि स्वीकृति दिएको छ ।
भारतको बेङ्गलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा नेपाली क्रिकेट टोलीका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिनुलाई ठूलो उपलब्धिको रूपमा लिन सकिन्छ । बेङ्गलोरको क्रिकेट एकेडेमीलाई विश्वकै नम्बर एक क्रिकेट प्रशिक्षण एकेडेमी मानिन्छ । भारतका अधिकांश क्रिकेट खेलाडी त्यहींबाट प्रशिक्षित भएर आउँछन् । नेपालका क्रिकेट खेलाडीहरूमा पनि निकै बढी क्षमता रहेको छ । नेपाली खेलाडीहरूको प्रतिभालाई अझ बढी उजागर गर्न थप र स्तरीय प्रशिक्षणको आवश्यकता महसूस भइरहेको थियो । नेपालमा पनि क्रिकेटको राम्रो भविष्य छ । हालै सम्पन्न टी–२० क्रिकेट विश्वकपमा नेपालको खेलको पूरै विश्वले प्रशंसा गरेको थियो । नेपाल निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ । बेङ्गलोरस्थित क्रिकेट एकेडेमीमा प्रशिक्षणका दौरान नेपाली खेलाडीहरूले धेरै नयाँ कुरा सिक्नेछन् ।
भारत सरकारको छिमेकी पहिलेको नीति अन्तर्गत नेपाल, भारतको प्राथमिकतामा पर्ने साझेदार मित्रराष्ट्र हो । नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदान अनुरूप रहेको छ । यस्ता भ्रमणहरूले हाम्रा दुई पक्षीय सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै सहकार्यका क्षेत्रमा छलफल गर्ने र समस्या पहिचान गर्ने अवसर पनि प्राप्त गर्दछ ।
नेपाल र भारतबीच ऐतिहासिक, सभ्यतागत, सांस्कृतिक र जनता–जनता बीचको सम्बन्धका कारण भारत र नेपाल घनिष्ठ र हितैषी छिमेकी हुन् । हालका वर्षहरूमा भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूले गति हासिल गरेका छन् । महाविनाशकारी भूकम्पका कारण ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणमा भारत सरकारले गरेको सहयोगका कारण सयकडौं पीडितहरू सकुशल पूर्ववत् अवस्थामा फर्केका छन् । पूर्वाधार, अन्तर्देशीय रेलमार्ग, सडक र पुलसँग सम्बन्धित अन्य परियोजना, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटीलगायत क्षेत्रमा द्रुतगतिमा भएका कामलाई प्रशंसनीय मान्नुपर्दछ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको यस भारत भ्रमणले दुई पक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनेछ ।