प्रस, सिराहा, ५ भदौ/

ज्येष्ठ नागरिकको सहयोगार्थ  सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–२ भवानीपुरमा ‘बुढयौली समाज जनसहयोग अभियान’ सञ्चालन भएको छ।

कामको अनुभव, ज्ञान र सीप हुँदाहुँदै पनि पारिवारिक अलगाव, एक्लो तथा अपमानको सामना गरिरहेका ज्येष्ठ नागरिहरूको सहयोगका लागि अभियान सञ्चालन गरिएको स्थानीय रामजी साहले बताए। सामाजिक क्षेत्रमा लामो काम गरेका साह पछिल्लो केही वर्षदेखि अमेरिका बस्दै आएका छन्।

ज्येष्ठ नागरिकको स्वास्थ्योपचार, पोषणसहित हेरचाहका लागि अभियानले सहयोग गर्ने उद्देश्य लिएको उनले बताए।

“विदेश बसेर गाउँ फर्कंदा आफ्नो समाजमा ज्येष्ठ नागरिकहरूको अवस्था देखेपछि मन काटियो, उहाँहरूको अवस्थालाई थोरै भए पनि सुधार्न आफ्नै गाउँबाट अभियान शुरू गरेको हुँ”– अभियन्ता साहले भने। “काम, अनुभव र विज्ञताका हिसाबले ज्येष्ठ नागरिक अमूल्य निधि हुन्। हामीले ज्येष्ठ नागरिकका लागि काम गर्न सक्यौं भने उहाँहरूको सम्मान हुने, आफ्नो मनले शान्ति पाउने र समाज विकास पनि हुनसक्छ”–उनको कथन थियो।

अभियान अन्तर्गत हालसम्म एक लाख रुपियाँ सङ्कलन भइसकेको छ। अभियान अन्तर्गत धनगढीमाई नपा–२ मा घरदैंलो कार्यक्रम सञ्चालन गरिएको थियो। प्रतिपरिवार मासिक पाँच रुपियाँको दरले सङ्कलन गरिएको हो। त्यसैगरी सामाजिक सञ्जालहरू, अनलाइन बैंकिङमार्फत सहयोग सङ्कलन भएको छ। स्थानीय जनप्रतिनिधि र राजनीतिकर्मीहरूले पनि अभियानमा सहयोग गरेका छन्।

बितेको साउन महीनादेखि अभियान सञ्चालन गरिएको हो। उक्त रकम ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई अस्पताल लैजानु पर्दा एम्बुलेन्स खर्च र आर्थिक अवस्था अति कमजोर रहेका असक्त असहाय ज्येष्ठ नागरिकका लागि उपचारमा समेत खर्च गरिने अभियानका सहभागि ममता साहले बताइन्।

अभियान सञ्चालन गर्नु अघि अभियन्ता साहले ‘ज्येष्ठ नागरिक, तिनका लागि गर्नुपर्ने काम र स्थानीय अगुवाहरूको भूमिका’ विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका थिए। सो अवसरमा ह्वील चेयर वितरण गरिएको थियो।

जनसहयोग अभियान अन्तर्गत पहिलो चरणमा धनगढीमाई नगरपालिका वडा नं. २ का ज्येष्ठ नागरिकहरूको शारीरिक, मानसिक, आर्थिक, पारिवारिक अवस्थबारे लगत सङ्कलन भइरहेको छ। लगत सङ्कलनपछि आवश्यकतानुसार स्वास्थ्य उपचार शिविर सञ्चालन गर्ने बुढेउली समाजको योजना छ।

आफ्नो गाउँ ठाउँबाट अन्यत्र गई व्यवासाय एवं रोजगार गर्दै रहेका महानुभावहरूसँग मासिक न्यूनतम रकम सङ्कलन गर्ने, सम्पूर्ण हिसाब किताब प्रमाण सहित अनलाइनमा सार्वजनिक गर्ने र विशेष सहयोगीहरूको तश्वीर एवं चिनारी समेत प्रकाशन गर्दै जाने अभियन्ता साहले सञ्चारकर्मीलाई जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here