• सञ्जय साह मित्र

नेपाल विद्युत् उत्पादन, वितरण तथा निर्यातमा एक पाइलो अझ सम्पन्न भएको छ। एक दशक पहिलेसम्म नेपालको विद्युत् उत्पादनमा जुन अवस्था रहेको थियो, त्यसबाट अब नेपाल निकै माथि आइसकेको छ। देशमा गणतन्त्र आइसकेपछि सबैभन्दा सुखद विकास सम्भवतः विद्युत् क्षेत्रमा भएको छ। भर्खरै यो समाचार आएको छ कि नेपालले एक हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता सम्पन्न गरेको छ। यसको अर्थ नेपालले विद्युत् उत्पादनको सामथ्र्य बढाएको त छ नै, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्न पनि सफल भएको छ। नेपाल र नेपालीको लागि यो निकै सुखद खबर हो भन्दा अत्युक्ति नहोला।

धेरै होइन, दश वर्ष पहिले नेपालमा लोडसेडिङ थियो। लोडसेडिङ त कुनै बेला यतिसम्म थियो कि एक दिनमा केही घण्टा बिजुली आउँथ्यो र हराउँथ्यो। त्यस बेला अहिलेको युग आउला भन्ने कल्पना पनि गर्न मुश्किल थियो तर नेपालले गत दश वर्षमा बिजुलीको क्षेत्रमा गरेको प्रगति निकै सन्तोषजनक छ। अब देश एक हजार मेगावाट बिजुली निर्यात गर्ने अवस्थामा पुगिसक्यो। हुनत गत आर्थिक वर्षमा नै नेपालको विद्युत् आयात–निर्यात सन्तुलनमा पुगेर नाफामा गएको थियो। नेपालले हिउँदमा आयात गर्छ र वर्षामा निर्यात गर्छ। अब बिस्तारै विद्युत् उत्पादन हरेक वर्ष बढिरहेको छ। नेपालले जति उत्पादनमा वृद्धि गरिरहेको छ, त्यति खपतमा वृद्धि गरिरहेको छैन। अर्थात्, उत्पादन क्षमता जति खपत क्षमता वृद्धि नहुँदा निर्यात क्षमतामा वृद्धि हुनु स्वाभाविक हो। नेपाल विद्युत् प्राधिकरण निरन्तर नाफामा रहँदा, अब केही वर्ष यसैगरी उत्पादनमा वृद्धि हुँदै जाने हो भने हिउँद महीनामा पनि नेपाल बिस्तारै आत्मनिर्भर बन्दै निर्याततर्फ उन्मुख हुने विश्वास लिन सकिन्छ। बिजुलीको क्षेत्रमा अहिले धेरै अनुमानहरू यथार्थ हुन सक्छन् भनिन थालिएको छ। यसको मूल कारण हरेक वर्ष विद्युत् उत्पादनमा वृद्धि हुँदै जानु हो। हरेक वर्ष केही विद्युत् आयोजनाहरू सम्पन्न भइरहेका छन् र राष्ट्रिय प्रसारण ग्रीडमा थपिंदो अवस्थामा छ। अझै धेरै विद्युत् आयोजनाहरू निर्माणाधीन छन्। यसरी नेपालले बिजुली निर्यात गरेर पनि सम्पन्नताको सपना देख्न सक्छ भन्ने पुरानो भनाइमा सत्यता वा सार्थकता छ भन्ने पत्याउन थालेका छन् सर्वसाधारणले। 

अहिलेको अवस्थामा नेपालको अधिकांश ठाउँमा बिजुली पुगिसकेको छ। एक दुई वर्षमा नेपाल पूर्ण विद्युतीकृत देश घोषणा हुने बाटोमा अग्रसर रहेको खबर पनि आइरहेको छ। नेपालको भूबनोट यति धेरै कठिन छ तर पनि नेपालको सम्पूर्ण क्षेत्रमा बिजुली पुग्दा समग्र नेपालको मुहार उज्यालो हुने कुरामा शङ्का छैन। यो दिन जहिले आउँछ, त्यो दिन निकै हर्षको कुरो हुनेछ। जब देशको सम्पूर्ण कुनाकाप्चामा विद्युत् पुग्नेछ तब नेपालमा बिहान कति, दिउँसो कति, राति कति बिजुली उपयोग हुँदोरहेछ अर्थात् नेपालमा औसतमा नेपालीले प्रत्येक दिन कति र वर्षभरिमा औसतमा कति विद्युत् खपत गर्दछन् भन्ने कुराको यकीन सम्भव हुन्छ। अहिले सम्पूर्ण सुगम क्षेत्रमा करीब बिजुली पुगिसकेको अवस्था छ र बिजुलीको खपत पनि भइरहेको छ। नेपालमा हरेक वर्ष बिजुलीको आन्तरिक खपतमा वृद्धि भइरहेको छ तर खपतको वृद्धि दरभन्दा उत्पादनको वृद्धिदर बढी रहेको छ। यद्यपि अहिले पनि नेपालमा बिजुली महँगो रहेको धेरैको भनाइ छ र बिजुलीको उपयोगको क्षेत्र बढाउनको लागि बिजुलीको दर सस्तो बनाउनुपर्ने माग पनि उठिरहेको छ। हरेक वर्ष नाफामा रहेको बिजुलीमा नाफाको हकमा उपभोक्ताको पनि हक लाग्छ भन्ने तर्क आइरहेको छ। यी तर्कहरू आफ्ना ठाउँमा छन् तर बिजुलीको उपभोगको गति बढाउनु आवश्यक देखिन्छ। 

विद्युत्को आपूर्तिमा अझै केही समस्या भइरहेको छ, पहिले यसलाई सुधार्नु अत्यावश्यक छ। अनावश्यक लाइन जान्छ। लाइन जानु र आउनुलाई सर्वसाधारणले स्वाभाविकरूपमा लिएका छन् जुन विद्युत् प्राधिकरणले विचार गर्नैपर्ने पक्ष हो। किन लाइन जान्छ ? लाइन जान नहुनेगरी कसरी व्यवस्थापन गर्न सकिन्छ ? यी प्रश्नको जवाफ प्राधिकरण आफैंले खोज्नुपर्छ। सर्वसाधारणले बिजुलीको महसूल तिरेका छन्। जतिसुकै कम वा बेसी बिजुली उपभोग गरेको भए पनि उपभोक्ताले सेवा शुल्क तिरेका छन् तर लाइन जाने–आउने गर्दा बिजुलीको उपभोगमा गुणस्तरीयता देखिएन। उपभोक्ताले सेवा शुल्क तिरिरहँदा पनि सेवामा सुधार नहुुनु उपभोक्तामााथि न्याय होइन। अब न्याय गर्ने समय आइसकेको छ। साथै अबको दिनमा खपतलाई अझ विश्वसनीय बनाउनु पनि आवश्यक छ। 

विद्युत् खपतको क्षेत्रमा हरेक वर्ष विस्तार भइरहँदा प्राधिकरणको सधैंको समस्या बनेको छ, चुहावट। विद्युत् चुहावट नियन्त्रणको लागि धेरै प्रयास भएको देखिन्छ। यद्यपि प्राधिकरणले चुहावटलाई धेरै हदसम्म नियन्त्रण गरिसकेको छ, गरिरहेको छ तर पनि यो एउटा समस्याको रूपमा रहेको छ। कतिपयले यो पनि भन्ने गरेका छन् कि विद्युत् चुहावटमा यदि प्राधिकरणले ध्यान दिने हो भने यसलाई रोक्न सकिन्छ। अहिलेको समयमा बिजुलीको आवश्यकता हरेक मानिसलाई रहेको छ। बिजुलीको उपभोग कुनै पनि उपभोक्ताले मिटरमार्फत नै गर्ने गरेका छन्। अनि मिटर चाहिं प्राधिकरणले उपलब्ध गराउँछ, निश्चित प्रक्रिया पूरा गरेका ग्राहकलाई। प्राधिकरणले उपलब्ध गराउने विद्युत् मिटरले कति युनिट विद्युत् खपत भयो भन्ने देखाउँछ र मिटर रिडरले पढेपछि त्यसको युनिटको हिसाबले विभिन्न शुल्कसमेत जोडेर उपभोक्ताको हातमा बिल थमाएपछि उपभोक्ताले विद्युत् महसुल तिर्छ। अब यो प्रक्रिया बदल्नुपर्ने समय आइसकेको छ। यदि प्राधिकरणले चाहने हो भने उपभोग भइसकेपछि युनिट उठ्दा गन्ती हुने विद्युत् मिटरको ठाउँमा उपभोक्ताले पहिले नै विद्युत् महसूल तिरेपछि उक्त रकम बराबरको युनिट उपभोग गर्ने वातावरण बनाइदिनु उचित हुन्छ। अर्थात् अहिलेको पहिले बिजुलीको उपभोग गर्ने अनि महसूल तिर्ने पोस्टपेड विद्युत् मिटरको ठाउँमा पहिले पैसा तिर्ने अनि तिरेको पैसा बराबरको बिजुली उपभोग गर्न पाउने प्रिपेड विद्युत् मिटर जडानलाई प्राथमिकता दिनुपरेको छ। कोही कसैले कति उपभोग गर्नुछ भन्ने कुराको अनुमान लगाई त्यस बमोजिम रिचार्ज गरेपछि सम्बन्धित मिटरमा तुरुन्तै रिचार्ज हुने र उपभोग भएपछि शून्यमा झर्ने। जसरी प्रिपेड मोबाइलमा हुन्छ। उपभोक्तालाई थाहा हुन्छ कि मलाई अब यत्तिमात्र कुरा गर्नुछ। यस किसिमको प्रणालीको विकास अहिलेको आवश्यकता हो। 

सजिलै रिचार्ज हुने र रिचार्ज पाइने व्यवस्था गरिनुपर्छ। उपभोक्ताले चाहेमा इन्टरनेटको माध्यमले रिचार्ज गर्ने व्यवस्था गरिदिने हो भने सबैभन्दा बढी हाइसन्चो प्राधिकरणलाई नै हुन्छ। विना रिचार्ज कुनै पनि विद्युत् मिटर नचल्ने भएपछि प्राधिकरणलाई मिटर रिडरको आवश्यकता पर्दैन र कुनै पनि उपभोक्ता जरिवानामा पर्ने डर पनि हुँदैन। प्राधिकरणका कर्मचारीले घरघर पुगेर बिल काट्ने परिपाटीमा एकरूपता छैन। कतिपय अवस्थामा उपभोक्ताले समयमैं तिर्न चाहेर पनि सकिरहेको छैन र जरिवाना तिर्नुपरिरहेको छ। जरिवाना त त्यसले तिर्नुपर्ने हो, जसले गल्ती गर्छ। सिद्धान्तले यही भन्दछ। आजकाल नेपाल टेलिकमका प्रिपेड ग्राहकलाई थाहा छ, मलाई कति कुरा गर्नुछ, यसकारण कतिको भ्वाइस प्याक वा कति जिबि डाटा चाहिन्छ, सोही अनुसार तयारी गर्छ वा उपभोग गर्छ। यही तरीका नेपाल विद्युत् प्राधिकरणले पनि गर्नुपर्छ। जसरी डिसको रिचार्जको समय निकट आउँदै गर्दा मोबाइलमा सूचना आउँछ, रिचार्ज सकिएपछि स्वतः सबै च्यानल बन्द हुन्छ, यस्तै तरीका विद्युत् मिटरमा भयो भने उपभोक्ता सचेत हुन्छ र विद्युत्को अनावश्यक दुरुपयोगदेखि सावधान पनि हुन्छ। 

खेतखेतमा बिजुली पुग्नु अत्यावश्यक छ। बिजुलीको उपयोग जसरी उद्योगमा भइरहेको छ, त्यसरी कृषि क्षेत्रमा पनि हुनु अत्यावश्यक छ। प्रक्रिया वा नियम एउटा होला तर सबै तहको सरकार र मुख्यगरी नेपाल विद्युत् प्राधिकरणको दायित्वभित्र पर्दछ कि जहाँ बिजुलीको आवश्यकता छ, त्यहाँ सम्पूर्ण पूर्वाधारसहित उपभोक्तालाई बिजुली उपभोग गर्ने वातावरण बनाइदिनुपर्छ। बिजुलीको युग अनुसार खपत बढाउन, उपभोक्ताको समय जोगाउन र प्राधिकरणको चुहावट रोक्न नयाँ र आधुनिक किसिमको प्रिपेड मिटरमा विशेष ध्यान दिनु अत्यावश्यक छ। कोही पनि नठगिने र सबैलाई फाइदा हुने काममा प्राधिकरणको ध्यान जानु आवश्यक छ। अबको दिनमा विद्युत्को उपयोगको क्षेत्र अझ फराकिलो बन्ने निश्चित भएकोले विद्युत्को उपयोग र उपभोग व्यवस्थित गर्न यो आवश्यक पनि छ। गुणस्तरसहितको सेवामा प्राधिकरणको ध्यान जाओस् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here