प्रस, वीरगंज, ४ भदौ/
आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले सरकारले मधेसमा विद्यार्थी अनुपातमा शिक्षकहरूको व्यवस्था नगरे सम्पूर्ण विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।
रौतहटको गुजरा नगरपालिकाको खत्वहियामा मङ्गलवार आयोजित कार्यक्रममा बोल्दै उनले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था मधेसमा नभएको चर्चा गर्दै यसबारे सरकार गम्भीर हुनुपर्ने बताए। उनले मधेस प्रदेशमा विद्यार्थीको चाप बढिरहेको तर सो अनुरूप शिक्षकको व्यवस्था नहुँदा अध्यापनमा समस्या भइरहेको बताए।
उनले विषयगत र तहगत शिक्षकको व्यवस्था हुनुपर्ने भन्दै आफ्नो पार्टीले सरकारको ध्यानाकर्षण गराउँदै आएको तर सरकार भने यस विषयमा गम्भीर नभएको आरोप लगाए। यथावस्थामा आजपा चुप नलागेर नबस्ने भन्दै उनले यथाशीघ्र विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गर्न माग गर्दै सो नभए विद्यालय बन्द गरेर आम शैक्षिक हडतालमा उत्रिन बाध्य हुने बताए। उनले विगतमा मधेसको शिक्षा राम्रFे भएको र यहाँका शिक्षकहरूले अरूलाई शिक्षा दिंदै आए पनि अहिले पछाडि परेको र यस विषयमा मधेसवादी दलहरू पनि चुप लागेको भन्दै अबका दिनमा सुधार नभए आम शैक्षिक हडताल गरिने बताए।
अध्यक्ष साहले शिक्षा ऐनको मापदण्ड अनुसार मधेसमा ५० विद्यार्थीमा एक शिक्षक हुनुपर्ने, पहाडमा ४० बराबर र हिमालमा ३५ विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने मापदण्ड रहेको र यसमा मधेसको हकमा विभेद भइरहेको बताए। शिक्षा मन्त्रालयले मधेसमा विद्यार्थी अनुसार शिक्षकको व्यवस्था नगरेको दोषारोपण लगाए।
उनले शिक्षाविना मधेसको विकास, समृद्धि सम्भव नभएको भन्दै सरकारले जानाजान यस्तो गरेको आरोप लगाए। उनले युवाहरूलाई यो विषयमा अग्रसरता देखाउन पनि आह्वान गरे। मौलापुरकी मेयर रीनाकुमारी साहले पनि विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था हुनुपर्ने माग गरिन्। उनले शिक्षामन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाएको भन्दै अबका दिनमा पनि मन्त्रालय यस विषयमा गम्भीर नभए आन्दोलनको विकल्प नभएको बताइन्।
आजपाका केन्द्रीय सदस्य डा हेमप्रसाद साहले मन्त्रीसम्मलाई ध्यानाकर्षण गराउँदा पनि शिक्षाजस्तो विषयमा हेलचेक्र्याइँ भइरहेको आरोप लगाए। आजपाका स्थानीय नेता सैफुल्लाहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सामिना हुसेन, महासचिव त्रिभुवन साह, स्थायी कमिटी सदस्य लालबाबू मन्सुरी, नरेश तुराहा, चन्देश्वर बैठा, लखिन्द्र साहलगायतको सहभागिता थियो।