• विनोद गुप्ता

बङ्गलादेशबाट शेख हसिनाको बहिर्गमनसँगै उनका छोरा साजीवको पाकिस्तानी गुप्तचर संस्था आइएसआईले विएनपीका कार्यवाहक अध्यक्ष तारिख अनवरसँग भेटघाट गरेको र साउदी अरबमा आइएसआई एवं तारिकबीच भएको भेटको प्रमाण आफूसँग सुरक्षित भएको भनाइ सार्वजनिक भएको थियो। त्यही क्रममा भारतीय राजनयिकहरूले पनि आन्दोलनलाई सावधानीपूर्वक बनाइएको सुनियोजित रणनीति भनिरहेकै बेला स्वयं शेख हसिनाको पनि पहिलोपटक घटनाको सम्बन्धमा भनाइ सार्वजनिक भएको छ। उनले अमेरिकालाई बङ्गालको खाडी उत्तरपूर्वी भागमा अवस्थित सेन्ट मार्टिन टापू र बङ्गलाको खाडी दिएको भए आजको अवस्था भोग्नु नपर्ने ठोकुवा गर्दै अन्तिम समयमा आफूले राष्ट्रलाई सम्बोधन गर्न खोजेको तर सैनिक शासनले त्यो समेत गर्न नदिएको आरोपसमेत लगाएकी छन्। 

बङ्गलादेशमा चीनको ठूलो आर्थिक लगानी छ भने भारतको ठूलो रणनीतिक र सुरक्षा संवेदनशीलता छ। यस्तोमा केही प्रश्नहरूको उत्तर खोज्नुपर्ने नै हुन्छ। पहिलो प्रश्न त के भने भारतीय राजनयिकहरूले भनेजस्तै यो सुनियोजित रणनीतिक षड्यन्त्र थियो भने भारतीय गुप्तचर संस्थाहरूले यसको भेउ किन पाउन सकेनन् र दोस्रो प्रश्न के भने के भारतीय गुप्तचर संस्थालाई थाहा भएर पनि दक्षिण एशियामा चीनको बढ्दो प्रभाव रोक्न हसिनाले आरोप लगाएजस्तै अमेरिकी षड्यन्त्रप्रति भारतको मौन समर्थन रहेको हो ? यी दुवै प्रश्नको उत्तर अहिले भारतले अङ्गीकार गरेको विदेश नीतिका सम्बन्धमा भारतीय विदेशमन्त्री एस जयशङ्करले आफ्नो पुस्तक द इन्डिया वेको कृष्नाज च्वाइसलाई बुझ्नुपर्ने हुन्छ। यसको सविस्तार वर्णनलाई india does not need to be popular, it just needs to secure its interest भनेर अर्थ लगाउन सकिन्छ। बङ्गलादेशको स्थापनामा नै भारतको अहम भूमिका भएकोले शेख मुजिबर्रहमानको अवामी लिग नै भारतको भरपर्दो मित्र हुनु अस्वाभाविक होइन। त्यसो हो भने भारतको गुप्तचर संस्थाहरू यसप्रति किन चनाखो हुन सकेनन् र भएर समयमैं सूचना प्रवाह गरिएको हो भने भारतले सुरक्षात्मक कदम किन उठाएन ? किनभने विगत चुनावकै दौरानदेखि राष्ट्रिय माहौल उनको विपरीत बन्दै गएको थियो। त्यस चुनावमा युरोप र अमेरिकाका साथै स्वयं बङ्गलादेशका नागरिक पनि व्यापक धाँधली भएको भन्दछन्। आम जनताको चाहनाविपरीत गराउन खोजिएको त्यो चुनावमा भारतले अवामी लिगलाई साथ दिएको कारण पनि बङ्गलादेशमा भारतविरोधी लहर बढेकै हो। त्यसमा आगोमा घ्यू थप्ने काम भारतको सत्तारूढ दलको हिन्दुत्वको नारा र लडाइँले गरेको हो। यो विरोध उक्त चुनावमा न्यून प्रतिशतमा खसेको मतले पनि उजागर गरेकै हो। समग्रमा दक्षिण एशियाकै कुरा गर्दा नेतृत्व लिने दुई देशहरू भारत र चीन नै हुन् जसमा चीन कम्युनिस्ट शासित राष्ट्र हो भने भारतलाई विश्वकै सर्वाधिक ठूलो प्रजातान्त्रिक राष्ट्रको मान्यता प्राप्त छ। यस्तोमा दक्षिण एशियामा प्रजातन्त्रको स्थापना एवं सुदृढीकरणमा भारतको ठूलो भूमिका हुनुपर्ने भए पनि २०२१ देखि अफगानिस्तानमा तालिबानको शासन छ भने २०२२ मा श्रीलङ्कामा राजपाक्षे शासनको अन्त्य ठूलो जनविद्रोहबाट अन्त्य भयो। 

भारतले मालद्विप्सबाट समेत आफ्नो सैन्य फिर्ता बोलाउनुपरेको छ भने भूटान र नेपालसँग उतार चढावको सम्बन्ध चलिरहेको पाइन्छ। के यो छिमेकी पहिला कि लक्ष्य पहिला बीचको अन्तद्र्वन्द्वको उपज त होइन ? अन्तर्राष्ट्रिय संस्थाहरूले देखाएको प्रजातान्त्रिक स्कोरकार्डमा भारतले २०१३–२०२३ सम्म १०० मा ७६ बाट झेरेर ६६ अङ्क मात्रै पाएको छ भने बङ्गलादेशले १०० मा ४० र नेपालले भने १०० मा ६२ अङ्क प्राप्त गरेको छ। यस आधारमा दक्षिण एशियामा समेत स्वतन्त्रता र प्रजातन्त्र अधिनायकवादी नेतृत्वको उदयले प्रजातान्त्रिक संस्थानहरू ध्वस्त हुँदै गएको र प्रजातन्त्र ओरालो लागेको भनाइ सार्वजनिक भइरहेका छन्। 

श्रीलङ्कामा आर्थिक दुरवस्थाका कारण विद्रोह भयो तर त्यहाँ लूटपाट भएन। बङ्गलादेशको हकमा भने हसिना सरकारले सन् २००९ मा ६९८ डलर रहेको प्रतिव्यक्ति आयलाई २०२२ मा २६८८ डलर पु–याएको, गरीबीको रेखामुनिको जनसङ्ख्या १० प्रतिशतमा झारेर विश्वको ३४ औं ठूलो अर्थतन्त्र बन्न सफल भइसकेको अवस्थामा समेत पूर्व सेनानीको परिवारलाई ३० प्रतिशत आरक्षण दिएको भनेर शुरू भएको आन्दोलनको यो माग सम्बोधन भइसकेर पनि आन्दोलन शान्त नभई सत्ता परिवर्तनसम्म नै पुग्ने कुराको अध्ययन हुनै पर्दछ। 

परम्परागतरूपमा दक्षिण एशियामा सानो राष्ट्रका नेताहरूले पद प्राप्त गर्न र पदमा रहिरहन भारततर्फ ढल्किने गर्दै आएकोमा अब चीनको समेत उदय भएकोले चीन पनि दक्षिण एशियाका मुलुकहरूमा नेताहरूलाई आफ्नो पक्षमा पार्न सक्रिय रहेको नेपालमैं भएको सत्ता परिवर्तनलगायत श्रीलङ्का र मालद्विप्सको घटनाबाट बुझ्न सकिन्छ। यसरी क्षेत्रीय शक्तिबाट समर्थन प्राप्त गरेर सरकारमा पुग्नेहरू समर्थनको बलमा सत्ता सञ्चालनमा लाग्ने र लोक कल्याणकारी राज्यको स्थापनामा लाग्नुको सट्टा नातावाद, भ्रष्टाचार, प्रजातान्त्रिक संस्थाहरूको विनाश, चुनाव जित्न बल एवं अवैध हतकण्डा प्रयोग र विपक्षी दबाउन हदैसम्मको बल प्रयोगमा लाग्ने गरेको पाइन्छ जसको फलस्वरूप यस्ता दल र तिनका नेताहरूको लोकप्रियता निरन्तर घट्दै गइरहेको पाइन्छ। यसरी असन्तोष चरममा पुगेको बेला नै शक्ति राष्ट्रहरूले आफ्नो समर्थनको सरकार बनाउन विभिन्न प्रकारका चलखेल गर्दछन् र अस्थिरता पैदा हुन्छ। नेपालमा माओवादी र एमाले एकीकरणको प्रयास र अहिले बङ्गलादेशमा भएको घटना यस्तै रणनीतिका प्रतिनिधि पात्र हुन्। नेपालको घटनामा चीनको भूमिका रहेको मानिन्छ भने अहिले बङ्गलादेशमा भएको घटनामा शेख हसिनाले भारतको वरदहस्त प्राप्त गरेपछि चुनावमा बल प्रयोग र विपक्षीको दमन गर्नुका साथै आरक्षण विरोधी आन्दोलनमा सर्वोच्चले आरक्षण रद्द गर्ने आदेश दिएपछि पनि आन्दोलनकारीहरूलाई नछाड्नु र आन्दोलनका दौरान अनियन्त्रित बल प्रयोग गरी तीन सयजति आन्दोलनकारीको हत्यामा हुन सक्छ शेख हसिनाले भनेजस्तै कुनै शक्ति राष्ट्रले चलखेल गरेको होस्। तर दक्षिण एशियाको केही वर्षयता, खास गरेर द इन्डिया वेको प्रतिपादनपछिको अवस्था हेर्दा भारतको प्रभाव क्षेत्र कमजोर भएको देखिंदैछ। यो यस क्षेत्रको स्थायित्वको लागि राम्रो सङ्केत नभएकोले भारतका विद्वत् नीति निर्माताहरूले दम्भ छाडी वास्तविकतालाई स्वीकार गरेर अगाडि बढ्नु नै श्रेयस्कर हुन सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here