प्रमोद यादव, पचगावा, ३ भदौ/
पर्सा जिल्लाको ऐतिहासिक मुख्य धार्मिक पर्यटनस्थलको रूपमा रहेको श्रीश्री १०८ श्री दुग्धेश्वर महादेव मन्दिर रामभौरीभाठा धाममा लागेको साउने मेला आजदेखि सम्पन्न भएको छ।
दुग्धेश्वर महादेव मन्दिरको पूर्वमा पर्सा राष्ट्रिय निकुञ्ज आधाभार, उत्तरमा घोडेमशान, पश्चिममा शिकारीवास, दक्षिणमा चरभैया सोनवर्षा पर्छ।
धार्मिक जनविश्वासको आधारमा साउनभरि महादेवको दर्शन गर्न र भाका पूरा भएकाहरूले अष्टयाम, भजनकीर्तन, कथावाचन, जलार्पण गर्न आउनेसमेतको सङ्ख्या एक महीनामा ५० लाखभन्दा बढी पुगेको मेला संरक्षण समितिका अध्यक्ष अलखदेव चौधरी थारूले बताए।
मेला दर्शन गर्न गत वर्षको तुलनामा यस वर्ष श्रद्धालु भक्तजन कम आएको थारूले बताए। उनले भारतबाट आउनेको सङ्ख्या घटेको बताए।
भाठाधाममा वर्षको चारपटक मेला लाग्ने गर्छ। साउन, माघको वसन्त पञ्चमी, फागुनमा महाशिवरात्रिका दिन र वैशाख त्रयोदशी मेला लाग्ने गर्छ।
बारा, पर्सा, रौतहट, चितवन, भारतको विभिन्न स्थानबाट भक्तजन मेला भर्न आउने दुग्धेश्वर महादेव मन्दिर समितिका अध्यक्ष ज्ञानलाल पटेलले बताए।
यस क्षेत्रमा चारकोसे झाडी, हराभरा जङ्गल, राष्ट्रिय जनावरहरू हेर्न सकिन्छ। भक्तजनले देवकी दहबाट जल भर्न पाउने, जनावरको बथान, जङ्गलमा हाती सफारीलगायत नयाँ दृश्य अवलोकन गर्ने व्यवस्था मिलाइएको मेला समिति सदस्य मनोज यादवले बताए।
मेलाबाट १० लाखभन्दा बढी चन्दा सङ्कलन भएको र उक्त रकमबाट बाटो मरम्मत, ग्रेभल गर्ने, पुल–कल्भट निर्माण मन्दिरको सौदर्यीकरणमा खर्च हुने र समिति बसेर विवरण सार्वजनिक गर्ने मेला समिति अध्यक्ष गेनालाल पटेलले बताएका छन्।
मेलामा सङ्कलन भएको आमदानी र खर्च सार्वजनिक गर्नुपर्ने सरोकारवालाको माग छ ?