भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले तेस्रो र अन्तिम विकास उडान अर्थात् सानो सेटेलाइट लन्च भेहिकल (एसएलएलभी)–डी ३ को सफलतापूर्वक प्रक्षेपण गरेको छ। यो एक महत्वपूर्ण उपलब्ीि हो। पृथ्वीको अवस्था अध्ययन गर्ने उपग्रह (इओएस–०८) प्रक्षेपण गर्नका लागि ‘सानो सेटेलाइट लन्च भेहिकल’ (एसएलएलभी)–डी ३ नामक रकेटलाई सफलतापूर्वक उडाइएको हो। ‘पृथ्वी अवलोकन उपग्रह’ भनेको पृथ्वीको सतह, मौसम र अन्य तत्वको अध्ययन गर्न प्रयोग गरिने उपग्रह हो। यस उपग्रहलाई अन्तरिक्षमा पठाउनका लागि ‘सानो सेटेलाइट लन्च भेहिकल’ (एसएलएलभी) रकेट प्रयोग गरिएको हो। यस रकेटको आकार सानो छ, तर यसको कार्यक्षमता उच्च छ। ‘तेस्रो र अन्तिम विकास उडान’ भनेको यो सानो रकेटको भारतले गरेको तेस्रो
परीक्षण हो। यसपटक इसरोले सानो रकेटको माध्यमबाट पृथ्वीको अध्ययन गर्ने उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। यसले भविष्यका लागि नयाँ सम्भावनाका ढोकाहरू खुल्नेछन्।

यस अघि पहिलो र दोस्रो प्रक्षेपण गरिएको थियो। पहिलो प्रक्षेपण (एसएलएलभी–डी १), १८ सेप्टेम्बर २०२१ मा गरियो, तर यसले आंशिक सफलता मात्रै हात पार्न सक्यो। यसको उद्देश्य ‘लन्च भेहिकल’को क्षमता परीक्षण गर्नुथियो। यस प्रक्षेपणमा ‘आदित्य–एल’ नामक उपग्रह प्रक्षेपण गरिएकोमा यो सूर्यको अध्ययनका लागि डिजाइन तयार पार्नमा सीमित रह्यो। यसको दुई वर्षपछि १० फेब्रुअरी २०२३ मा दोस्रो प्रक्षेपण (एसएलएलभी–डी २) गरियो। यस पटक ‘आदित्य–एल’ कै दोस्रो प्रक्षेपण गरिएको थियो। यसले सौर्यमण्डलको अध्ययन गर्न महत्वपूर्ण सहयोग पु–यायो। पहिलो र दोस्रो प्रक्षेपण उपग्रह र उपग्रह बोक्ने रकेट, दुवैको क्षमताको परीक्षण थियो। यो नयाँ प्रविधिको परीक्षण थियो। यी दुई प्रक्षेपणमा इसरोले यसमा असफलता र सफलता दुवैको अनुभव बटुल्यो। दोस्रो प्रक्षेपणसम्म परिष्कृत अनुभव हासिल गरिसकेका भारतले अन्ततः तेस्रो प्रक्षेपणमा ‘पृथ्वी अवलोकन उपग्रह (इओएस–०८)’ सफलतापूर्वक प्रक्षेपण गरेको छ। जसले ‘सानो सेटेलाइट भेइकल’ (एसएलएलभी) प्रणालीको स्थिरता र विश्वसनीयता प्रमाणित भएको छ। यसले भविष्यका मिसनहरूको लागि आधार तयार पार्नुका साथै आगामी प्रक्षेपणहरूमा सुधार ल्याउन मदत गर्नेछ।

यो सानो तर उच्च क्षमताको रकेट प्रणालीको प्रक्षेपण भारतबाहेक अमेरिका, रूस, चीन, इजरायल, जापानलगायत मुलुकले गरिसकेका छन्। यस सफलताले भारतलाई अन्तर्राष्ट्रिय अनुसन्धानमा महत्वपूर्ण उपलब्धि तथा नयाँ उचाइ हासिल भएको छ। अब भारत साना उपग्रहहरूको प्रक्षेपणमा आत्मनिर्भर हुँदै अन्तरिक्ष प्रक्षेपण क्षमतावान मुलुकमा सूचीकृत भएको छ। क्षमतावान साना सेटेलाइटहरूको सफल प्रक्षेपणले कम लागतमा, विश्वासनीय र नयाँ प्रकारका अनुसन्धान गर्न भारतको पहुँच पुग्यो। यसले भारतलाई अन्तर्राष्ट्रिय स्तरमा अन्तरिक्ष प्रविधिमा उच्च मान्यता प्रदान गर्दै अन्य अमेरिका, चीन, रूसलगायत मुुलुकसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ। यसो हुँदा अन्तर्राष्ट्रिय मिसनहरूको साझेदारीमा भारतले पनि अवसर पाउने भयो। यस्ता अवसर र साझेदारीले भारतलाई अन्तर्राष्ट्रिय ग्राहकसम्म पुग्न तथा साना उपग्रह प्रक्षेपण सेवा प्रदान गर्न अन्तराष्ट्रिय बजारको ढोका खोल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here