काठमाडौं, ३० साउन/रासस
सशस्त्र प्रहरी बल नेपालले ‘काभा वुमन्स भलिबल नेशन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपिएफ क्लबका तीनजना महिला भलिबल खेलाडीलाई बुधवार सम्मान गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनीहरूलाई सम्मान प्रदान गरे ।

सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी सहायक हवलदार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट रहेका छन् । त्यस अवसरमा महानिरीक्षक अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरेर देश र सङ्गठनको छवि उच्च राख्न खेलेको योगदानको कदरस्वरूप नगद पुरस्कारसहित सम्मान गरिएको बताए ।

यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा लिग सम्पन्न भएको थियो । उक्त लिग तथा अन्य भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवलदार पदमा बढुवा गरिएको समेत जानकारी दिइयो । ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकूद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेले आजै दज्र्यानी चिह्न प्रदान गरे ।

यस अघि २२औं सशस्त्र प्रहरी दिवस–२०७९ को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवलदार पदमा पदोन्नति गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here