धर्मेन्द्र चौरसिया, पोखरिया, २९ साउन/
पर्सा जिल्लाका पहलवानहरू पेशाबाट पलायन हुँदैछन् । तीनै तहका सरकारले पहलवानहरूको हकमा कुनै काम नगर्दा यो पेशाबाट उनीहरू जीवन धान्न नसक्ने देखेर पलायन हुन थालेका हुन् ।
पछिल्लो समयमा ख्यातिप्राप्त पहलवान जवाहिर खलिफासहित यो पेशाबाट २५ जनाभन्दा बढी अन्य पेशामा गएको पहलवान बृजकिशोर यादव बताउँछन् । अहिले स्थानीय सरकार भएपनि पहलवानहरूको हकमा काम गर्न नसकेको उनले आरोप लगाए । उनले पहलवानी गरेर जीवनयापन गर्ने आधारहरू पछिल्लो समयमा घट्दै गएको र यसलाई जोगाउन स्थानीय तहको सरकारले पहल नगर्दा पेशाबाट पलायन हुनुको विकल्प नरहेको बताए । अहिले पर्सा जिल्लामा ५० भन्दा बढी पहलवान छन् र त्यसमध्ये १० जना राष्ट्रियस्तरका पहलवान हुन् ।
बृजकिशोर यादव, नरेश गिरी, सुमित साह, बलिराम यादव, लक्ष्मण यादव, मनोज यादव, धर्मराज यादव, मदन यादव, भन्टु यादव, भागवत साहलगायतका पहलवानहरू स्वर्ण र रजत पदक प्राप्त गरेर देशमा चर्चित छन् । अहिले पर्सा जिल्लामा उनीहरू निरन्तर अभ्यासमा छन् तर आप्mनै खर्चमा । १४ वटा पालिकामध्ये चारवटा पालिकामा कुश्तीको लागि अखडा बनाइएको छ । तर ती सबै अखडा पहलवानहरूले आप्mनो खर्चमा बनाएर अभ्यास गरिरहेका छन् ।
केही सार्वजनिक जग्गामा, केही निजी जग्गामा अखडा बनाएर अभ्यास गरिरहेको पहलवान बृजकिशोर यादव बताउँछन् । बहुदरमाई नगरपालिका–८ रामनगरी, पोखरिया नगरपालिका–४ पोखरिया र १० शिवर्वा, छिपहरमाई गापा–१ मिर्जापुर र वीरगंज महानगर–१३ राधेमाईमा सार्वजनिक जग्गामा अखडा बनाएर कुश्तीको अभ्यास गरिरहेको उनले बताए ।
कुश्ती प्रतियोगिता अहिले प्रदर्शनको लागि चाडपर्वहरूमा मात्र सीमित हुँदै आएको छ । व्यावसायिकरूपमा कुश्ती प्रतियोगिता हुनै छाडेको छ । त्यसैले पनि यो पेशाबाट जीवन धान्न नसक्ने देखेर थुप्रै पहलवान पलायन भइरहेका छन् । पोखरिया नपाकी उपप्रमुख रूबी ठाकुरले चालू आवको बजेटमा पहलवानहरूको हकमा बजेट विनियोजन नभए पनि पुसको संशोधन बजेट अथवा आगामी आवमा उनीहरूको हकमा केही बजेट विनियोजन गरिने बताइन् । पोखरिया नपामा पहलवानी अभ्यासको लागि दुईवटा अखडा छन् । दुईटै अखडा पहलवानहरूले आफैंले बनाएका हुन् ।