काठमाडौं, २९ साउन/रासस
एएफसी च्यालेन्ज लिग अन्तर्गत प्रारम्भिक चरणको खेलमा नेपालको चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा पारो एफसीले चर्च ब्वाइजलाई २–१ गोलअन्तरले पराजित ग¥यो । पारो एफसीको जीतमा किङ्गा वाङ्चुक र विलियम ओपोकुले एक/एक गोल गरे ।
खेलमा ३८औं मिनेटमा लाकेन लिम्बुले गोल गरेपछि चर्च ब्वाइजले अग्रता लिएको थियो । मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गरेका थिए ।

तर चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ४०औं मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले गोल गर्दै खेल बराबरीमा ल्याए । चर्च ब्वाइजका गोलकीपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गर्न सफल भए । खेलको ६६औं मिनेटमा पारो एफसीका लागि विलियम ओपोकुले निर्णायक गोल गर्दै २–१ को अग्रता दिलाएका थिए ।

जीतसँगै पारो एफसी प्रतियोगिताको समूह चरणमा प्रवेश गरेको छ भने चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ । भुटानी क्लबले सिनियरस्तरको प्रतियोगितामा नेपाली क्लबलाई हराएको यो पहिलोपटक हो ।

भुटानी लिग च्याम्पियन पारो एफसीले पहिलो रोजाइमा नौ विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो भने शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले तीनजना विदेशी खेलाडी मैदानमा उतारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here