प्रस, रक्सौल, २६ साउन/

रक्सौलस्थित स्थानीय प्रखण्ड मुख्यालय परिसरमा अम्बेडकर ज्ञान मञ्चको बैठक बसेर भारतीय सर्वोच्च अदालतद्वारा आरक्षण हटाउने निर्णयको विरोध गरिएको छ । अम्बेडकर ज्ञान मञ्चका अध्यक्ष रवि कुमारको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय र राज्य सरकारले राम्ररी पैरवी नगरेको परिणाम सर्वोच्च अदालतबाट एससी, एसटी आरक्षणमा उपजतीय वर्गीकरण, क्रिमिलेयर तथा बिहारमा सङ्ख्याको आधारमा लागू आरक्षण हटेको आरोप लगाइएको थियो ।

बैठकले अदालतको सो निर्णय असंवैधानिक भएको ठहर गर्दै सोविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ । मञ्चका कार्यकर्ताहरूले सरकारले अदालतको निर्णयविरुद्ध अध्यादेश जारी गर्नुपर्ने नत्रभने यही अगस्त २१ तारिखका दिन भारत बन्द गरिने चेतावनी दिएका छन् । मञ्चका कार्यकर्ताले अविलम्ब अध्यादेश जारी गरिनुपर्ने माग गरेका छन् । यसो नभएको खण्डमा बाबासाहेब डा भीमराव अम्बेडकरको रक्सौलस्थित प्रतिमामा माल्यार्पण गर्दै अगस्त २१ तारिखका दिन दिल्ली–काठमाडौं राष्ट्रिय राजमार्ग अवरुद्ध गरिन्छ । मञ्चले भारत बन्दलाई शान्तिपूर्ण सम्पन्न गर्न सहयोग पु¥याउन सबै पक्षसँग आग्रह पनि गरेको छ । बैठकमा संस्थापक मुनेश राम, रवि कुमार, रामपूजन राम, छोटेलाल राम, भाग्यनरायण साह, सञ्जीव कुमार, ताराचन्द्र राम, वीरेन्द्र राम, अमन कुमार, राजाबाबू कुमार र श्यामबिहारी पासवानलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here