‘समृद्ध नेपाल सुखी नेपालीको लागि युवा सुदृढीकरण’ नाराका साथ सोमवार बाराको सिमरामा अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ ।
जिफन्ट युवा मधेस कमिटीद्वारा आयोजित कार्यक्रममा मधेस प्रदेश लेखा समितिकी अध्यक्ष मञ्जुकुमारी थापामगरले श्रमिक देशको समृद्धिको आधार युवा भएकाले उनीहरूलाई सबै तहका सरकारले अवसर दिनुपर्ने बताइन् ।
ह्वीनका अध्यक्ष आनन्द थामीले युवाले गुनासो गर्नुभन्दा राज्य, दल र सङ्गठनमा हस्तक्षेप बढाउनुपर्ने बताए । यसैगरी, श्रमिक नेताहरू कलमेश झा, गीता भण्डारी, केशव अधिकारी र सरीता नेपाललगायत वक्ताहरूले युवा दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
नवराज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यानन्द कुशवाहाले स्वागत र लक्ष्मी चौधरीले सहजीकरण गरेकी थिइन्।