प्रस, गरुडा, १२ पुस/
तराई–मधेसका जिल्लामा उखुखेती कम हुँदै गएको देखिएको छ। किसानले उब्जाएर चिनी उद्योगलाई बेचेको उखुको मूल्य वर्षौंसम्म नपाउँदा किसानहरू पीडामा भएको कारण उखुखेती कम गर्दै लगेको पाइएको छ।
मध्यतराईको बारा, रौतहट र सर्लाहीमा बर्सेनि उखुखेती घट्दै गएको देखिएको हो। समयमा मूल्य नपाउँदा र उखुखेतीले किसानको गर्जो नटार्ने हुँदा किसानमा निराशा हुन थालेपछि उखुखेती कम हुन थालेको उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले बताएका छन्।
गत वर्षभन्दा चालू सिजनमा करीब पाँच हजार क्वीन्टलले उखु उत्पादन कम हुने सम्भावना रहेको अध्यक्ष यादव बताउँछन्। गत वर्ष गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडले किसानबाट निकै कम उखु पाएको थियो। समयमा भुक्तानी नगरेको कारण श्रीरामले करीब ६३ हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो। रौतहटको कटहरियास्थित बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिजले करीब ६ लाख क्वीन्टल, जिल्लाबाहिरका विभिन्न चिनी उद्योगले करीब ५ लाख क्वीन्टल र जिल्लाभित्रका विभिन्न सख्खर उद्योगले करीब तीन लाख क्वीन्टल उखु क्रसिङ गरेका थिए।
गत वर्ष करीब १५ लाख क्वीन्टल उखु उत्पादन भएको अध्यक्ष यादवको दाबी छ। किसानले आफूले उत्पादन गरेको केही उखु बीउको रूपमा पनि प्रयोग गर्दै आएका छन्।
चालू सिजनमा रौतहटमा उखुको उत्पादन करीब १० लाख क्वीन्टलमा सीमित हुने सङ्घका सल्लाहकार सफिन्द्रप्रसाद यादवको अनुमान छ। उखुको मूल्य भुक्तानीमा किसानलाई भएको समस्याले गर्दा उखु किसान निराश भएकाले उखुखेती कम हुन पुगेको सल्लाहकार यादवको भनाइ छ।
रौतहटसँगै सर्लाहीमा पनि गत वर्षको तुलनामा उखुखेती केही कम भएको स्थानीयको भनाइ छ। सर्लाहीको बलरा नगरपालिकाका अगुवा उखु किसान मोहन सिंहका अनुसार गत वर्षको तुलनामा सर्लाहीमा उखुखेती कम भएको छ। मुख्यगरी दक्षिणी सर्लाहीमा उखुखेती कम हुनुको मुख्य कारण किसानले पाउने भुक्तानी नै रहेको सिंहको भनाइ छ।
बारा जिल्लामा पनि उखुखेती कम भएको छ। बारा जिल्लाका केही गाउँको उखु रौतहटको श्रीराम सुगर मिल्समा आउने गरेको र उद्योग नै बन्द भएकोले उखुखेतीमा कमी आएको कोतवालका रामअशिष साहको भनाइ छ।
उखुखेती किसानको लागि नगदेबाली भएको तर उद्योगहरूले उधारो बाली र किसानलाई रुवाउने बालीको रूपमा बनाइदिंदा उखु किसान निराश भएको अगुवा किसानहरू बताउँछन्। रौतहटमा १८ हजार किसानले उखुखेती गर्दै आएकामा साना तथा मझौला स्तरका किसानहरूको उखुखेतीप्रति नकारात्मक दृष्टिकोण बन्न सक्ने सम्भावना रहेको सङ्घका अध्यक्ष यादवको भनाइ छ।