सत्तारूढ नेकपाको केन्द्रबाटै चिरा परेपछि सो मातहतका पार्टी कमिटीहरूमा यतिबेला तीव्र ध्रुवीकरण शुरू भएको छ। हिजो एउटै थालमा खाएका कतिपय सहकर्मी पनि आज दुईतर्फ मुख फर्काएका छन्। त्यसैगरी, हिजो दुई धारमा भएका कैंयन परस्पर विरोधीहरू आज एउटै धारमा देखिएका छन्। नेकपाका नेता, कार्यकर्ताहरूबीच यतिबेला मुख्य चासो र चर्चा नै को कता लागेका छन् भन्ने छ। हाटबजार, मेलापात वा सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा, सामाजिक सञ्जालमा कुरा गर्दासमेत को कता लागेका छन् भनी चर्चा परिचर्चा हुने गरेको छ। चिनजान भएका नेकपाका नेता, कार्यकर्ता तथा सहयोगी समर्थकहरू भेट हुँदा त झन् शुरूमा नै यही प्रश्न हुन्छ ‘कमरेड कता ?’ गन्तव्य कता भनेर जान्न चाहेका होइनन्, पार्टीभित्रको क्याम्प कता सोधेका हुन्। हिजो मिलेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र सर्लक्क विभाजित भएको भए, त्यसले कार्यकर्तास्तरमा यतिधेरै हलचल मच्चाउने थिएन। उनीहरू पूर्ववत् आआफ्नो थातथलोमा फर्कने थिए। तर अहिले त सर्लक्क नभई छ्यासमिस भएर   विभाजन भएको छ। हिजोका एमालेबाट अगुवाइ गरेका माधव नेपाल, झलनाथ खनालहरू आज प्रचण्डतर्फ छन् भने माओवादी केन्द्रबाट एकीकरणको अगुवाइ गरेका रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी जस्ता हस्तीहरू ओलीसँग छन्।
नेतृत्व तहका बाहेक स्थानीयस्तरका नेता, कार्यकर्ताको ठूलो सङ्ख्या यतिबेला ‘कमरेड कता’कै अवस्थामा छन्। हिजोदेखि कम्युनिस्ट पार्टी भनेर लागेका तर ठूलो भोगविलासमा नपुगेका पङ्क्ति पार्टीको आधिकारिक छाप, चिह्न र नाम जता हुन्छ, आफूहरू पनि त्यतै भन्नेमा देखिएका छन्। यसको निम्ति निर्वाचन आयोगको निर्णय आउनुपर्ने हुन्छ। अर्को एउटा पङ्क्ति भने पार्टी फुटेकोमा खुशी भएका छन्। उनीहरूले पार्टी एकीकरणको बेलामा चित्त दुखाएका थिए। एकीकरणपश्चात् पनि पुनः फुटोस् भन्ने कामना गर्दै थिए। चुनावको बेला दुई दलीय सहमतिलाई पनि उनीहरूले मनबाट पालना गरेनन्। पार्टी एक रहँदा जहाँ पक्ष–विपक्ष चलिरह्यो, उनीहरू अब सकभर पार्टीको नाम र चिह्न पनि पुरानै भइदिए हुन्थ्यो भन्ने चाहनामा छन्। यस किसिमका नेता, कार्यकर्ताहरू अहिले आफ्नैजस्तो भावना मिल्नेहरूको पुनर्मिलनका लागि सक्रिय भएका छन्। जसले कित्ता छुट्याएका छैनन् ‘कमरेड कता’को अवस्था अर्थात् साथीको मनोभावना बुझ्ने क्रममा छन्।
जनता जनार्दन हुन्। बितेका चुनावहरूमा तत्कालीन एमाले र माओवादी केन्द्रलाई मतदान गरेका मतदाताहरू सबै पार्टीका झोले वा हनुमान होइनन्। मतदाताले कुनै बेला नेपाली काङ्ग्रेसलाई दुई तिहाइ दियो त कुनै बेला अल्पमत। माओवादीलाई सबैभन्दा ठूलो पार्टी बनाउने र तेस्रो स्थानमा थन्काउने पनि मतदाता नै हुन्। यसैगरी, मतदाताले तत्कालीन एमालेको पनि मूल्याङ्कन गरेकै हो। ठूलो आशा र भरोसाका साथ दुई पार्टीको गठबन्धन ‘नेकपा’लाई मत दिएको जनताले अब उनीहरूको मूल्याङ्कन गर्र्न बाँकी नै छ। पार्टी फुट्दैमा जनताको अदालतबाट उम्किन कोही सक्दैन। नेकपाको फुटमा मुख्य दोषी कुन कमरेड हो ? जनभावना अर्थात् जनताले दिएको म्यान्डेडविपरीत चल्नेहरूको गोलबन्द कता भइरहेको छ ? चक्कर के चल्दैछ, मतदाताले सूक्ष्म नजर लगाइरहेका छन् र सोध्दैछन् ‘कमरेड कता ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here