प्रस, परवानीपुर, २५ साउन/
नेशनल एकेडेमी क्याम्पस, वीरगंजले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कक्षा ११ मा भर्ना भएका ६२ जना विद्यार्थीलाई स्वागत गर्न कार्यक्रम आयोजना गरिएको थियो । विगत २४ वर्षदेखि वीरगंजको शिक्षा क्षेत्रमा योगदान दिंदै आएको क्याम्पसले गुणस्तरीय शिक्षा दिंदै आएको वक्ताहरूले बताएका छन् ।
कार्यक्रममा क्याम्पसका प्रमुख कार्यकारी अधिकृत केदार साहले वीरगंजको शिक्षाको इतिहासमा नेशनल एकेडेमी क्याम्पस अग्रणी भूमिकामा रहेको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले विद्यार्थी जीवनमा लागूऔषध र सामाजिक सञ्जालको लतले नयाँ पुस्ता पिरोलिंदै आएको बताए । जिप्रका, पर्साका प्रवक्तासमेत रहेका प्रनाउ भारतीले युवामा अहिलेको जल्दोबल्दो जोखिम भनेको गलत साथीभाइसँगको सङ्गत नै रहेको बताए । उनले नयाँ पुस्ताले शिक्षासँगै राम्रो संस्कार भएको साथीको सङ्गत गर्नुपर्ने सुझाव दिए । उनले जस्तो सङ्गत हुन्छ, उस्तै व्यवहार हुने बताए । उनले अहिलेका पुस्ताले मोबाइलमा इन्टरनेट चलाउने तर के हेर्ने के नहेर्नेबारे ज्ञान नै नभएको कारण ठगी वा अन्य झमेलामा फसिरहेको बताए । उनले सामाजिक सञ्जाल प्रयोगमा चनाखो हुनसमेत सुझाव दिए ।
क्याम्पसको सल्लाहकार समिति सदस्य बलराम श्रेष्ठले पछिल्लो समय देशको राजनीतिक, आर्थिक र सामाजिक अवस्था तरलताको अवस्थाबाट गुज्रिरहेको हुँदा नेपालमा पनि आगामी दिनमा बङ्गलादेश जस्तै अवस्था आउने हो कि भनी चिन्ता व्यक्त गरे । उनले देशको हालको अवस्थामा राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका अर्का वक्ता अर्थविद् इन्दुशेखर मिश्रले नेपालको अवस्था बदलाव गर्न नै नयाँ पुस्ताले अभिभारा लिएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले ठूलो मानिस बन्नुभन्दा पहिले देशमा असल नागरिक बन्नु आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा मानवसेवा आश्रम, वीरगंजका प्रमुख दिवेश मानवसेवाले क्याम्पसका विद्यार्थीहरूलाई राम्रो संस्कार सिकाउन प्रेरणादायी प्रस्तुति गरेका
थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here