प्रस, वीरगंज, २४ साउन/
वीरगंजको मुख्य सडक फराकिलो हुने विषयमा वीरगंज महानगरपालिका पछिल्लो समयमा आएर विश्वस्त हुन सकेको छैन ।
नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएसँगै दुई वर्षदेखि मुख्य सडक फराकिलो गर्ने विषयमा दृढ देखिए पनि अदालतले अहिलेसम्म यो विषयलाई टुङ्गो लगाउन सकेको छैन । नगरप्रमुख सिंहले अदालतबाट मुख्य सडक फराकिलो गर्ने विषयमा निर्णय भएपछि आपूm तदारूकताका साथ लागिपर्ने बताउँदै आएका छन् तर नगरप्रमुख सिंहकै मातहतमा रहेको महानगरपालिकाले भने मुख्य सडकको २५ मिटरभित्रै जनस्वास्थ्य प्रयोगशाला निर्माण गरेको छ ।
पुरानो वारुणयन्त्र रहेको हाल सशुल्क पार्किङ बनाइएको भूमिसुधार तथा मालपोत कार्यालय, पर्साअगाडिको महानगरको खाली जग्गामा जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिएको छ । यो प्रयोगशाला मुख्य सडकको २५ मिटरभित्र पर्दछ । शुरूमा प्रयोगशाला निर्माण गरेको महानगरले अहिले पर्खाल र मुख्य गेट पनि निर्माण गर्दैछ । नगरप्रमुख सिंहले यसअघि सो प्रयोगशाला मुख्य सडक फराकिलो हुने क्रममा हटाउने गरी निर्माण गरिएको बताएका थिए तर अहिले सोही क्षेत्रमा पर्खाल र प्रवेशद्वार पनि निर्माण गरिएको छ । यसले महानगर मुख्य सडक फराकिलो हुने विषयमा विश्वस्त नभएको देखिन्छ ।
महानगर अन्तर्गतकै सामुदायिक विद्यालय महावीरप्रसाद रघुवीर राम त्रिजुद्ध माविमा पनि मुख्य सडकको २५ मिटरभित्रै थप निर्माण कार्यहरू भइरहेका छन् । सो विद्यालयको अगाडि पसल, सटरहरू भएका संरचना नै २५ मिटरभित्र परे पनि अहिले सो संरचनासँगै टाँस्सिएर विभिन्न व्यवसायको लागि थप जग्गा उपलब्ध गराउँदै नयाँ निर्माण कार्य थालिएका छन् ।
मुख्य सडक विस्तारको मुद्दा सर्वोच्चमा लामो समयदेखि चल्दै आएको छ र अहिले यसको पेशी हेर्दाहेर्दैमा साउन २७ गते तोकिएको छ ।
यस अघि ३२ पटक यो पेशीलाई सर्वोच्चले हेर्न नभ्याएर हेर्दाहेर्दैमैं राखेको हो । अदालतबाट निर्णय हुन नसकेपछि अहिले महानगरले मुख्य सडक फराकिलो नहुने निक्र्योल गरेर आप्mनै लगानीमा २५ मिटरभित्रै निर्माण कार्यहरूलाई तीव्रता दिएको देखिन्छ ।