प्रस, सर्लाही, २१ साउन/
सर्लाहीको कौडेनास्थित लखनदेही खोलाको बाँध मरम्मत शुरू भएको छ । बाढीले भत्काएको बाँध स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले मर्मत शुरू गरेको हो ।

सशस्त्र प्रहरी १० नं गण कविलासी र भैरवी दल गण पाँचकुमारी ब्यारेकबाट खटेको नेपाली सेनाको टोली बाँध मरम्मतमा सहभागी छन् । गत साउन १६ गते चुरे क्षेत्रमा भएको भीषण वर्षापछि आएको बाढीले कौडेना गाउँपालिका वडा नं ५ स्थित लखनदेही खोलाको बाँध भत्काएको थियो ।

बाढीले भत्काएको स्थानमा १५ मिटर लामो १० फिट चौडा बाँध स्थानीयको सहयोगमा सोमवार नेपाली सेना र सशस्त्र प्रहरीले पुनर्निर्माण गरेको कौडेना गाउँपालिका वडा नं ५ की अध्यक्ष अनिशा खातुनले बताइन् । बाँध फुटेपछि वडा नं ५ स्थित छपकैया, भाडसर र खुटौना गाउँतर्फ लखनदेही खोलाको पानी सोझिएको थियो ।

उक्त स्थानमा खोलाले अढाई सय मिटरभन्दा धेरै बाँध कटान गरेको छ । अर्कोपटक ठूलो बाढी आए डेढ/दुई सय बिघा खेत र दुईवटा गाउँ नै बगाउने जोखिम रहेको वडाध्यक्ष खातुनले जानकारी गराइन् । “स्थानीय, प्रहरी र सेनाको सहयोगमा अस्थायी बाँध बनाउँदै छौं । जोखिम अझै छ,” उनले भनिन् ।

बाँध मरम्मत तथा पुनर्निर्माणमा प्रहरी र सेनाका ५६ जनाको संयुक्त टोलीका साथ १७५ जना स्थानीय खटिएका वडा कार्यालयले जानकारी गराएको छ।

यस क्षेत्रमा बलियो बाँध निर्माण गर्नुपर्ने स्थानीय रामविलास रायले माग गरे । बाँस र बोरामा बालुवा हालेर बनाएको कमजोर बाँधका कारण हरेक वर्ष वर्षामा खोलाले गाउँ बगाउने डरमा बस्नुपरेको उनको गुनासो छ । बाढीले बाँध भत्काएको स्थानमा बाँसको पाइलिङ गरेर बोरामा बालुवा भरेर बाँध बनाइएको वडाध्यक्ष खातुनको भनाइ छ।

बाँध निर्माणका लागि गाउँपालिकाले बालुवा भर्न बोराको व्यवस्था गरिदिएको उनले जानकारी दिइन् । खोलाले बाँध भत्काएकै दिनबाट स्थानीय मरम्मतका लागि खटिरहेका छन् ।े

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here