प्रस, सिराहा, २० साउन/
सिराहाको गोलबजारमा भारतीय युवकको शव फेला परेको छ । सोमवार बिहान गोलबजार नगरपालिका–१ बहिरीबाँधनजीकै ग्राभेल उत्खनन गरेको खाल्डोमा युवकको शव फेला परेको हो ।
भारत, बिहारको समस्तीपुर जिल्लास्थित अलमपुरका करीब ३२ वर्षीय बबलुकुमार खानको शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । उनी विजय यादवसँगै सिराहाको धनगढीमाई नगरपालिका–८ इटारी टोलमा पाहुना आएका थिए । पाहुना आएका उनीहरू दुईजना आइतवार साँझ रक्सी पिएर झगडा गरेको स्थानीयले बताएका छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार झगडाको क्रममा खानलाई गम्भीर चोट लागेको थियो । चोटको कारण अचेत भएका उनलाई उपचारको लागि उनकै साथीले लगेका थिए । बिहान बेवारिसे अवस्थामा खानको शव फेला परेको हो । चोटकै कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।
मृतकको शव शल्यपरीक्षणको लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय, गोलबजारका प्रहरी निरीक्षक सुनील कार्कीले जानकारी दिए । उनले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । मृतकका साथी विजय यादवलाई नियन्त्रणमा लिइएको छ।