काठमाडौं, २१ साउन/रासस
काभा महिला नेशन्स भलिबल लिग अन्तर्गत सोमवारको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले मल्दिभ्समाथि पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१८ ले पराजित ग¥यो । नेपाल समूह चरणको अङ्कतालिकामा दोस्रो स्थानमा र्यो । नेपालले यस अघि श्रीलङ्का र भारतलाई पराजित गरेको थियो भने इरानसँग पराजित भएको थियो ।
नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ । इरान अङ्कतालिकाको तेस्रो स्थानमा रह्यो । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको भन्दै सेमिफाइनलमा इरानलाई पराजित गर्नेमा विश्वास व्यक्त गरे । नेपाली टोलीकी कप्तान अरुणा शाहीले आफ्नो टोलीमा भएको कमजोरीलाई सुधार गर्दै इरानविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताइन् ।
अर्काे सेमिफाइनलमा भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ । भारत लिग चरणमा शीर्ष स्थानमा रह्यो भने श्रीलङ्काले चौथो स्थानमा रहेर अन्तिम चारमा स्थान पक्का गरेको हो । भोलि दिउँसो ३ बजे शुरू हुने पहिलो सेमिफाइनलमा श्रीलङ्काले भारतको सामना गर्नेछ भने साँझ ५ः१५ बजे शुरू हुने दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ ।