प्रस, परवानीपुर, १४ साउन/
पूर्वी नेपालको धनकुटा जिल्लाको भेडेटारमा रु २० करोडको लगानीमा स्काइवाक टावर सञ्चालनमा आएको छ । कोशी प्रदेशको भेडेटारलाई हिल स्टेशन बनाउन वान्टडर्स अम्युजमेन्ट पार्क एट्राक्सन प्रालिको लगानीमा सो स्काइ वाक टावर सञ्चालनमा आएको हो ।
एक वर्षदेखि काठमाडौंको कमलादी र इलामको कन्याममा सो कम्पनीले स्काइवाक टावर यसअघि सञ्चालनमा ल्याइसकेको छ । नेपालकै पहिलो पिपिपी मोडेलमा सञ्चालन भएको सो टावरबाट उठ्ने राजस्व र मनोरञ्जन करमा ४५ प्रतिशत साँघुरीगढी गाउँपालिका र धरान उपमहानगरपालिका र ५५ प्रतिशत असुल गर्ने समझदारी भएको छ भने कोशी प्रदेशले सो टावरले गर्ने खुद मुनाफाको पाँच प्रतिशत रोयल्टी लिने समझदारी भएको छ ।
साँघुरीगढी गापा–४ मा निर्मित सो टावरको भाग धरान उपमहानगरपालिका क्षेत्रमा पर्ने भएकोले दुवै स्थानीय तहलाई सो आयोजनाको साझेदारको रूपमा जोडिएको लगानीकर्ता कम्पनीका सञ्चालक सञ्जीव रोकाहाले जानकारी दिए । साढे १८ मिटर लम्बाइको टावरको उचाइ ४१ फिट रहेको बताइएको छ । पहिलेदेखि नै हिल स्टेशनको रूपमा परिचित भेडेटारमा इटहरी, विराटनगर र भारतीय पर्यटकलाई लक्षित गरी टावर सञ्चालनमा ल्याइएपछि सो क्षेत्रमा पर्यटकको आवागमन बढ्ने विश्वास व्यक्त गरिएको छ । एकैचोटी सो टावरमा ५० जनाको समूहले अवलोकन र सीसाबाट वनजङ्गलको दृश्यावलोकन गर्ने थ्रिलिङ एवं एडभेन्चर्स फिल गर्नको लागि सो टावरमा लगानी गरिएको लगानीकर्ताले बताएका छन् ।