जहाँ–जहाँ उद्योग छ, नागरिकले केही न केही सास्ती सहनुपरेको छ । यो सास्ती केही दुर्निवार हुन्छ भने केही मानवीय बेवास्ताले हुन्छ । उद्योग स्थापना भएपछि प्रदूषण सँगसँगै आउँछ । विभिन्न प्रकारका प्रदूषण–ध्वनि, वायु, जल, जमीन । त्यसैले लोककल्याणकारी सरकारले उद्योग स्थापना गर्नुपूर्व केही मापदण्ड निर्धारित गरेको हुन्छ । सकभर प्रदूषण न्यूनतम स्तरमा राख्ने, उद्योग वरिपरि कोहीकसै नागरिकलाई असह्य हुने वातावरण नबनाउने । उद्योग चल्दा कोलाहल हुन्छ, उद्योगमा कच्चा पदार्थ प्रशोधन गर्दा वायु, जल, जमीन सबैमा केही न केही मात्रामा प्रदूषण फैलन्छ । हुनत आजको अति वैज्ञानिक युगमा यस्ता प्रदूषण नियन्त्रण गर्ने थुप्रै उपकरणहरू विद्यमान छन् । तर प्रदूषणलाई आधुनिकताको अनिवार्य अङ्ग स्वीकार गरिसकेको हाम्रो मानसिकता तबसम्म आकुलव्याकुल हुँदैन, जबसम्म प्रदूषणले नेटो काट्दैन । यसको प्रत्यक्ष असर औद्योगिक करिडर भनिने वीरगंज–पथलैयाका बासिन्दाले भोगिरहेका छन् । यस क्षेत्रमा बग्ने जीवन्त नदी श्रीसिया खोला अहिले उद्योगहरूका लागि गटर (नाला) मा परिणत हुन पुगेको छ । श्रीसिया नदी प्रदूषित हुनाले यस भेगका बासिन्दाको धार्मिक, सांस्कृतिक जीवनमा बाधा त पुगेको छ नै, दोहोरो स्वास्थ्य हानि र दुर्गन्धले भौतिक क्ष्Fति पनि पु-याइरहेको छ ।

पुरानो पुस्तालाई थाहा होला, श्रीसिया खोला त्यस ताका स्नान गर्ने, पौडी खेल्ने, माछा मार्ने केन्द्र हुने गर्दथ्यो । तर उद्योगहरूको स्थापनासँगै तिनका हानिकारक रसायनजन्य अवशिष्टले खोलामा ठाउँ पाएपछि स्नान गर्नु त टाढाको कुरा पानी छुँदा घाउ–खटिरा हुने भय उत्पन्न भएको छ । जलचर अब दुर्लभ देखिन्छन्, त्यो पनि बाढी आएको बेला मात्र । रामवनदेखि शुरू भएको यो खोला वीरगंजसम्म आएर भारत प्रवेश गर्दछ । भारतको रक्सौल नजीक रहेको सुन्दरपुरमा कुष्ठरोग निवारक केन्द्र छ, जसको छनोट नै श्रीसिया नदीको जडीबुटी मिसिएको पानी रोग–निवारक भनेर गरिएको हो । अब यो पानी त्यै रोगको घर बनेको छ । नेपालकै लाखौं मानिसको धार्मिक आस्थासँग यसको सरोकार रहेको छ । किनकि कात्तिक स्नान, छठ पूजा, तीज, ऋषि पञ्चमी, जनै पूर्णिमाको नदी/खोलासँग अन्योन्याश्रित सम्बन्ध छ । यी सबै धार्मिक र सांस्कृतिक चाड अब खुम्चिएर नल–धारामा सीमित भएका छन् । चाडपर्वहरू जनमैत्रीका व्यापक आधार हुन्स तर जन, समूहमा परिणत हुने ठाउँ नै मासिएपछि समाजमा व्यक्तिवादिता मात्र त हुने हो । आजको समाज त्यसभन्दा भिन्न कहाँ देखिएको छ र !

यस्तो कुरा होइन कि कसैलाई यसमा चासो छैन । तर चासो अन्तर्मनबाट उत्पन्न नभएर, बाह्य देखावामा समेटिन पुगेको छ । भर्खर वीरगंज महानगरपालिकाले नदी प्रदूषित बनाउने उद्योग परिसरमा आप्mनो फोहर फालेर रुष्ट प्रतिक्रिया दिएको छ । वीरगंज महानगर मात्र होइन, बितेका दिनमा सञ्चारमाध्यम, व्यक्तिविशेष, संस्था, राजनीतिक दलहरूले यस विषयमा सरोकार देखाएका हुन्, तर तात्कालिक मात्र । हाम्रो नागरिक समाज त विलक्षणको छ, नदी नभए कल–धारामा, अब त बाटामा पानी भरेर पनि छठपूजा हुन थालेको छ, आप्mनो काम चलाइरहेका छन् । नागरिकको यसै सदाशयताको फाइदा उद्योगहरूले उठाइरहेका छन् । र महानगरपालिकाले पूर्ण शक्तिले प्रदूषण निरोध गर्नुपर्नेमा हलुको धम्की दिने कामले दशकौंदेखि मैमत्ता भएर वातावरण बिगारिरहेका उद्योगलाई यसले के असर पार्ला ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here