प्रस, रौतहट, १२ साउन/
नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताले वर्तमान सरकार अर्थतन्त्र मजबूत पार्न जनआकाङ्क्षा अनुरूप बनेको बताएका छन्।

रौतहट दृष्टि साप्ताहिकको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा केस गुप्ताले देशको आर्थिक अवस्था खराब हँुदै गएकोले अर्थतन्त्र बलियो बनाउन, विचाराधीन रहेका कानून निर्माण गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको र यो सरकारले आफ्नो उद्देश्य पूरा गर्ने दाबी गरे। उनले ओली प्रधानमन्त्री बनेको दिनदेखि शेयर बजारमा उछाल आएर अर्थतन्त्र गतिशील भएको बताए।

उनले देशको अर्थतन्त्र बलियो भए पत्रकारिता क्षेत्र पनि फस्टाउने बताए। उनले रौतहटको पत्रकारितामा सुधारको लागि स्थानीय पत्रकारहरूको अहम् भूमिका हुनुपर्ने बताए। उनले विभिन्न समयमा यहाँका पत्रकारितामा लाग्ने आरोप–प्रत्यारोपको निराकरण हुनुपर्ने बताए। पत्रकारिता र राजनीति सेवाभावले अगाडि बढ्ने क्षेत्र भएको बताए।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले रौतहटका पत्रकारहरूको अवस्था र कार्यशैलीका विषयमा चर्चा गरेका थिए।
कार्यक्रममा स्तम्भकार श्रीमन्नारायण मिश्रले सामाजिक सञ्जालबाट गरिने पत्रकारिताले पत्रकारहरूको स्तर घटाएको बताए।
बज्जिका भाषाका लागि भूमिका निर्वाह गर्दै आएका पत्रकार तथा लेखक सजय साहले पत्रकारिता क्षेत्रमा देखिएका विकृति, विसङ्गतिलाई हटाउन प्रयास गर्नुपर्ने धारणा राखे।
रेड टेलिभिजनका सञ्चालक जयप्रकाश यादवले स्थानीय तह पत्रकारितालाई बदनाम गराउन लागिपरेको बताउँदै सबै पत्रकार सजग र सचेत हुनुपर्ने सुझाए।

रौतहट दृष्टि साप्ताहिकका प्रधानसम्पादक शैलेन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपाल रौतहटका अध्यक्ष आदर्श उपाध्याय, दिव्य जागरणका सम्पादक रामएकबाल साहलगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा स्तम्भकार श्रीमन्नारायण मिश्र र पत्रकार एवं साहित्यकार सजय साहलाई जनही रु २५०० र प्रशंसापत्र प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण दिनेश यादवले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here