राजेन्द्रप्रसाद कोइराला
“मानव मनभित्र एउटा यस्तो गुण हुन्छ, जसले उचित–अनुचित जुनसुकै कारणले भए पनि कसैले भोग्नुपरेको दुःखप्रति प्रायःजसो उदासीन रहँदैन– बी.पी. कोइराला

विपी क्यान्सरबाट ग्रसित भएको अवस्थामा गणेशराज शर्माले उनीसँग गरेका कुराकानी र वार्तालापमा आधारित रही उनले सङ्कलन गरेको पुस्तक ‘राजा, राष्ट्रियता र राजनीति’ मा उनी कति दूरदर्शी थिए भन्ने कुरा कल्पना पनि गर्न सकिन्न।

विपी कोइरालाले सालाखाला ४० वर्ष सक्रिय राजनीति गरे। २०३३ सालदेखि २०३७ सालसम्म राष्ट्रिय मेलमिलापको नीति लिएर देश फर्केपछि। उनले विभिन्न संवाद र वार्तालापमार्फत व्यक्त गरेका उद्धरणलाई विभिन्न किसिमले व्याख्या र विश्लेषण गरी अहिलेको पुस्तालाई बुझाउनु अत्यन्त जरुरी छ।

त्यस बेलाको विश्व राजनीति दुई धारमा बाँडिएको थियो ः साम्यवाद

(युएसएसआर) र पूँजीवाद (युएसए)। नेपालका दुई छिमेकी मुलुकको अवस्था पनि दयनीय नै थियो। त्यस्तो अवस्थामा देशको सर्वभौम सत्ता जोगाउन विपीले लिएको साहसिक राजनीतिक निर्णय अभूतपूर्व र अविश्वसनीय लाग्छ। त्यो समय जुन बेला हिन्दुस्तानले सिक्किमलाई विलय गरिसकेको थियो। उनको अटुट विश्वास थियो कि राजतन्त्रलाई अनादर गरियो भने देशको अस्तित्व रहने छैन। उनको त्यो निर्णयले गर्दा नै आज हामी नेपाली भएर शिर ठाडो पार्न सकेका छौं। त्यो बेलाको विश्व परिदृश्य दुई सैद्धान्तिक विचारधारामा बाँडिएको त थियो नै, भारतमा इन्दिरा गाँधीको सबै छिमेकीलाई आफ्नो वर्चस्वमा राख्ने अभीष्ट थियो।

देशको वस्तुस्थितिबारे उनले गरेको व्याख्या–“म रहुन्जेल मेरा साथीहरूलाई अनावश्यक निर्धक्कता छ कि विपी छँदैछ नि ! त्यसले गर्दा साथीहरूले जति जिम्मेवारी लिनुपर्ने हो, लिन नसकेकोले गर्दा जनतामा चेतना जगाउन ढिला भइरहेको छ।” उनी राष्ट्रियताको सवालमा राजासँग मेरो घाँटी जोडिएको छ भन्छन्। राष्ट्रिय एकतालाई बाँध्न सक्ने तत्व नै राजा, राष्ट्रियता र प्रजातन्त्र हो। यस नीतिमा हामी अड्न सक्यो भने हाम्रो एकतालाई कसैले पनि टुटाउन र फुटाउन सक्दैन। राजनीतिको पहिलो शर्त नै स्वतन्त्रता हो। देशमा विभिन्न राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा होस्, आआफ्ना विचार र सिद्धान्त लिएर उनीहरू जनतामा जाऊन् र जनताले जसलाई विजय गराउँछ, त्यही दलले शासन गरोस्। त्यो पो प्रजातन्त्र हो। त्यो बेलाको समयमा पनि विपीको समावेशी विचार व्यवहारमा एकरूपता देखिन्छ। त्यसको उदाहरण १७ महीना उनले नेतृत्व गरेको मन्त्रिमण्डलको नामकरण हेर्दा स्पष्ट हुन्छ।

उनी जमीनको उत्पादनको विषयमा यस्तो विचार राख्छन्–“जमीन जसले जोत्छ, उसैको हुनुपर्ने हो तर यो काम त्यति सजिलो छैन अहिलेको अवस्थामा। यो कुनै नीति र योजना र दूरदर्शी सोचविना हचुवाको भरमा गरिने काम होइन। जे जस्तो भए पनि जमीनको उत्पादन जसरी पनि बढाउनु नै राज्यको लामो समयको योजना हुनुपर्छ।” उनी भन्छन् यदि उनलाई अधिकार प्राप्त भए जमीनको उत्पादन बढाउन कुलोनालाको व्यवस्थापन, र खादमलको व्यवस्था हुनु जरुरी हुन्छ। घना जङ्गल र नदीनालाहरू हाम्रो देशका ठूला सम्पत्ति हुन्। यसको विकास गर्न सके देशको कायापलट नै हुन सक्छ। त्यसबेला नै उनका यस्ता सपना थिए। उनी भन्छन्–“उद्योगधन्दाका लागि चाहिने खनिज पदार्थहरूको खोज हाम्रो देशमा भएको छैन। यसबारे हामी अहिले सोच्न सक्दैनौं। हामो स्रोत नै जल, जमीन, जङ्गल र जनश्रम
(कम्युनिस्टहरूले विपीको यो वाणी सापट लिएका हुन्) हो। विकासका योजनाहरू बनाउँदा यी चार तत्वलाई हामीले ध्यान राख्नु जरुरी छ। उनले त्यति बेलै सूर्य र पानीबाट ऊर्जाको विकास गर्न सकिने कुरा उल्लेख गरेका छन्। उनी आफ्नो विचार राख्दै अगाडि भन्छन्–“युरोप र अमेरिकाको टेक्नोलोजीले हामीलाई फाइदा हुन सक्दैन, यसको अन्धाधुन्ध आयातले देशको ठूलो रकम बाहिर जान्छ र यसले देशलाई टाट पल्टाउँछ। त्यसैले हामीले आफ्नो देश अनुसारको खोज र अनुसन्धान गरी देश सुहाउँदो प्रविधि विकसित गर्न सक्नुपर्छ। यसबाट प्रस्ट हुन्छ कि अनुसन्धान र विकासको लागि उनको चिन्तन, त्यो बेलाको समयमा, कति अविश्वसनीय लाग्छ। गाँस, वास, कपास, शिक्षा र स्वास्थ्य प्रारम्भिक आवश्यकता हुन्”– उनी थप्छन्–“यी कुराहरू हाम्रै मुलुकमा प्राप्त साधनहरूको आधारमा पूरा हुनु जरुरी छ।”

त्यसबेला कम्युनिज्मको वर्चस्वले पूर्वी युरोपलाई ढाकिसकेको थियो। फ्रान्स जस्तो देश पनि यसको प्रभावबाट अछूतो रहन सकेको थिएन जसको उपस्थिति फ्रान्सको संसद्मा पनि थियो। नेपालका त्यस बेलाका कम्युनिस्टबारे (उनीहरू रूसको कम्युनिस्टबाट प्रभावित भएको अवस्था थियो) विपी भन्छन्–“यहाँका कम्युनिस्टहरूसँग मेरो मतभेद दुई तीन कुरामा मात्र छ ः उनीहरू रूसबाट सञ्चालित नहोऊन् र बहुदलीय व्यवस्थामा विश्वास राखून्।” यही विचारबाट प्रभावित भएर मदन भण्डारीले जबजको सिद्धान्त परिमार्जित गरेका हुन्। मदन भण्डारीले पनि विपी को विचारलाई आत्मसात् गर्दै आफ्नो जबज सिद्धान्त प्रतिपादन गरेका हुन् भन्दा कुनै अन्याय हुन्छ जस्तो मलाई लाग्दैन।

विपी फेरि भन्छन्–“यी दुई कुरा उनीहरूले माने अरू मतभेद त्यति ठूलो होइन। त्यो बिस्तारै हट्दै जान्छ। त्यस्तो उच्च सोच राख्दै उनी अगाडि भन्छन्–“यिनीहरू अरू दलको स्वतन्त्रता स्वीकार गरी सरकारमा आए, मेरो धेरै ठूलो मतभेद रहने छैन।”

राजा, राष्ट्रपति र प्रधानमन्त्रीको प्रसङ्गमा उनी राजाको महत्व राष्ट्रको सार्वभौमिकताको लागि कति जरुरी छ भन्ने यस भनाइबाट प्रस्ट पार्छन्–“जसरी स्वीडेनमा समाजवाद र राजतन्त्रसँगै चलिरहेको छ, त्यसैगरी हाम्रोमा पनि अघि बढ्न सक्छ। राजा असल भए भने चुनावबाट आएको सरकारलाई सजिलो हुन्छ। चुनिएर आएको राष्ट्रपति र प्रधानमन्त्रीबीच शक्ति सङ्घर्ष हुन सक्छ र यसले मुलुकलाई कमजोर बनाउने कुरामा दुई मत रहँदैन। फ्रान्समा त्यस बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको सङ्घर्षले यस प्रसङ्गमा विपीलाई झ्स्क्याएको प्रस्ट देखिन्छ साथै भारतमा पनि डाक्टर राजेन्द्रप्रसाद, त्यस बेलाका राष्ट्रपति र प्रधानमन्त्री जवाहारलाल नेहरूबीचको सङ्घर्ष सतहमैं देखिएको थियो। यसैबाट हामी अनुमान गर्न सक्छौं कि कसैको सोचमा नभएको कुरा कसरी उनी सोच्दथे। त्यसैले त उनलाई उनका विरोधीहरूले नै वहाँको मृत्युपछि, महामानवको उपमा दिएका हुन्।

अधिनायकवादबाट सशङ्कित हुँदै उनी भन्छन्–“हिटलर पनि चुनावबाटै आएका हुन्, त्यसकारण हामीले त्यो स्थिति हाम्रो देशमा नआओस् भनेर कम्युनिस्टहरूलाई एउटा सीमित दायरामा राख्न सक्नुपर्छ र काङ्ग्रेसले राजाको अस्तित्वलाई सधैं स्वीकार गर्दै अघि बढेन भने काङ्ग्रेसको अस्तित्व सकिने छ। अहिलेको प्रसङ्ग हेर्दा शेरबहादुरले माओवादी–कङ्ग्रेस बनाइसके। २०६२–६३ को जनान्दोलन पछि गिरिजाले माओवादीहरूलाई स्पेस दिएदेखि नै काङ्ग्रेस खिइँदै गएको अवस्था छ। झन् अहिलेको स्थानीय चुनावको गठबन्धनले त काङ्ग्रेसलाई रसातलमैं पु–याउँछ जस्तो छ।

सम्पूर्ण राजनीतिक दल तथा नेपाली काङ्ग्रेसका डाक्टर शेखर कोइराला, डाक्टर मीनेन्द्र रिजालजस्ता विद्वत्वर्गले विपी अध्ययन केन्द्रलाई विराटनगरको साथै सातै प्रदेशमा स्थापना गरी विपीको आदर्शलाई आजका युवामाझ र आउँदो पुस्तालाई दीक्षित गर्दै अगाडि बढ्न सके अबको २० वर्ष पछिको पीढी कति सभ्य, शालीन, दूरदर्शी र कति इमानदार साथै सिद्धान्तनिष्ठ हुने थियो होला।

विपीले करीब ४० वर्ष सक्रिय राजनीति गरे। त्यसमध्ये वि.सं. २०३३ सालदेखि २०३७ सालसम्मको अवधिलाई लिएर विपीका समर्थक वा विरोधी कसैको पनि एउटै दृष्टिकोण पाइँदैन। समय बित्दै गएपछि महापुरुषहरूलाई हेर्ने दृष्टिकोणमा भिन्नता बढ्दै जानु प्राकृतिक नियम हो। भगवान्को
अवतार मानिएका राम, कृष्ण, जिसस क्राइस्ट, पैगम्बर मोहम्मद लगायतका विषयमा त भक्तजनको एउटै दृष्टिकोण पाइँदैन। भक्तजन आफैं लडाइँ गरिरहेका छन्।

अन्त्यमा विपीकै उद्धरणबाट आलेखलाई विराम दिन चाहें– “जीवन एउटा कहिल्यै नसकिने र समाप्त नहुने वसन्त हो।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here