प्रस, वीरगंज, ६ साउन/
ज्येष्ठ नागरिक सङ्घ, पर्साले आइतवार कार्यक्रम गरी गुरुपूर्णिमा मनाएको छ।
ज्येष्ठ नागरिक पार्क वीरगंज–१५ मा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जयसवालले योगगुरु रामदेव महाराज र बालकृष्णको तस्वीरमा माल्यार्पण गरेका थिए। यसैगरी, सहभागी योगसाधकहरूले पार्कमा योग सिकाउने गुरु रामप्रसाद पण्डित र निजकी पत्नीलाई गुरुदक्षिणास्वरूप दोसल्ला ओढाएर उपहार प्रदान गरेका थिए।
ज्येष्ठ नागरिक सङ्घ मधेस प्रदेशका अध्यक्ष एवं केन्द्रीय सदस्य जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बैधनाथ कोइरी, सचिव विनयराज गौतम, सदस्यहरू रामानन्द प्रसाद, रमेश दत्त, उदयराज शर्मालगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण किशोरीलाल साहले गरेका थिए।
साहिब दरबारद्वारा प्रसाद वितरण गुरुपूर्णिमाको अवसरमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले साहिब दरबार वीरगजको तर्फबाट माईस्थान मन्दिरमा प्रसाद वितरण गरेका छन्। नगरप्रमुख सिंहले निजी लगानीमा प्रसाद वितरण गरेका थिए।