prateek dainikप्रस, वीरगंज, ५ साउन/
वुमन क्रिएशनको आयोजनामा शनिवार वीरगंजमा महिलाहरूलाई व्यापार तथा उद्यम क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले व्यापार प्रदर्शनीको आयोजना गरिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले वीरगंजको माटोको लागि केही गर्नु छ भने हामी सबै जुट्नुपर्ने बताए । उनले आफूसमेत वीरगंजवासीको प्रयासमा हिजोको वीरगंजको मुहारमा केही परिवर्तन भएपनि त्यसबाट आफू सन्तुष्ट नभएको र अझ बढी परिवर्तनका लागि सबैको साथ सहयोग आवश्यक हुने बताए । उनले चुनावको बेला मात्र राजनीति हुनुपर्ने र त्यसपछिको समयमा विकास गर्नुपर्ने बताए । उनले आफू राजनीतिबाट टाढा रहेर वीरगंजको समृद्धिको पक्षमा काम गरिरहेको दाबी गर्दै आफ्नो यो अभियानमा सबैको साथ र सहयोग आवश्यक भएको बताए । उनले वीरगंजमा व्यापारका साथै समाजसेवाको क्षेत्रमा पनि मारवाडी समुदायका महिलाहरू खुलेर अगाडि आएकामा प्रशंसा गरे । उनले सही र गलत छुट्याएर वीरगंजको विकासमा लागि पर्न आग्रह गरे । उनले नराम्रो कामको आलोचना सहन आफू तयार रहेको बताए । नगरप्रमुख सिंहले डेढ खर्बभन्दा बढी राजस्व सङ्कलन गर्ने वीरगंजलाई सरकारले सदैव उपेक्षा गर्दै आएकोमा दुःखेसो पोखे ।

वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत सञ्जय कुुमारले वीरगंजमा करीब दुई हजार मारवाडी परिवार रहेका र उनीहरू उद्योग, व्यापार र समाजसेवामा सक्रिय रहेकामा सराहना गरे ।

वुमन क्रिएशन वीरगंजकी अध्यक्ष अञ्जु रूँगटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल, पूर्वअध्यक्ष अशोक बैदलगायतका उद्योगी–व्यवसायीहरूको सहभागिता थियो ।

प्रदर्शनीमा महिलाद्वारा उत्पादित घरेलु हस्तकला, खाद्य, शृङ्गार, तयारी कपडा, इलेक्ट्रोनिक र फास्टफूडका परिकारसहितका करीब ७० वटा स्टल राखिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here