प्रस, रौतहट, ५ साउन/
फतुवाविजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र लेखापाल उमेश यादवको मिलेमतोमा अनियमित भुक्तानी भएको छ ।
फतुवाविजयपुर नपाका प्रमुख प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले नगरपालिकामा पछिल्लो समयमा व्यापक अनियमितता गर्दै आएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले कामै नभएका विभिन्न योजना र शीर्षकमा रकम भुक्तानी गर्र्दै आएको आरोप छ ।
पालिकाको रकम हिनामिना गर्ने उद्देश्यले प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादव दुवैजना कार्यालयमा नबस्ने र कार्यालयभन्दा बाहिर गोप्य ठाउँमा बसेर खरीद नै नभएका विभिन्न सामान खरीद भएको भनी फर्जी बिल भरपाईको आधारमा सप्लायर्स र ट्रेडर्सलाई रु ९३ लाखभन्दा बढी रकम भुक्तानी गरेको स्रोतले जनाएको छ ।
समग्र कन्स्ट्रक्शन एन्ड सप्लायर्सलाई असार ५ र ९ गते रु १८ लाख ९७ हजार २३३ भुक्तानी दिइएको छ । त्यस्तै, होटेल एन प्लाजालाई रु पाँच लाख ३६ हजार ६८३, श्री स्टेशनरी गौरलाई रु पाँच लाख ५१ हजार ७७, शङ्कर प्रेस गौरलाई रु नौ लाख ५० हजार ५५० भुक्तानी दिइएको छ ।
पालिकामा सामान खरीद नै नभएको अवस्थामा सामान खरीद भएको भनी नक्कली बिल भरपाईको आधारमा होटेल, सप्लायर्स र प्रेसलाई भुक्तानी गरिएको स्रोतको दाबी छ ।
पालिकाले भुक्तानी दिएका सामानहरूको खोजबीन गरिएको खण्डमा प्रमुख प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवको कर्तुत बाहिरिने स्रोतको दाबी छ । असारको २४ गतेसम्म भुक्तानी गरिसक्नुपर्ने र सोको विवरण कोलेनिकालाई उपलब्ध गराउनुपर्ने नियम रहेकोले असारको पहिलो सातादेखि नै दुवै अधिकृत कार्यालयमा बस्न छाडेर बाहिरै बसी चेक बनाएर भुक्तानी गर्दै आएका थिए । कमिशनको कुरा मिलेपछि भटाभट भुक्तानी हुने गरेको एकजनाले बताए । सम्पन्न नभएका कार्यको भुक्तानी गरिएको विषय अहिले पालिकामा चर्चित भएको छ । कमिशन कम दिएका र दिन नसकेका मानिसहरूको चेक नबनेपछि अनियमितताका कुरा बाहिर आएको हो ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, रौतहटका अध्यक्ष एवं माध्यमिक विद्यालय शीतलपुरका प्रधानाध्यापक बुनिलालप्रसाद यादवले बिहीवार नगरपालिकाको कार्यालय विजयपुरमा पत्रकार सम्मेलन गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले शिक्षक र कर्मचारीहरूको तलबबापतको रकम भुक्तानी नगरेको भन्दै आक्रोश पोखेका थिए ।
फतुवाविजयपुर नगरभित्र सञ्चालित ३१ वटा सामुदायिक विद्यालयका २५० भन्दा बढी शिक्षक तथा कर्मचारीहरू असार मसान्तमा तलब पाउनबाट वञ्चित भएका छन् । प्रअ यादवले पालिकाले एक वर्षदेखि तलब भुक्तानी गर्न बाँकी राखेको बताए । उनले प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले जानाजान तलब निकासा नगरेर शिक्षकहरूलाई दुःख दिएको आरोप लगाए । उनले शिक्षकहरूबाट कमिशन नपाउने हुँदा रकम निकासा नगरिएको आरोप लगाए । यो पालिकाको शैक्षिक अवस्था नाजुक छ । शिक्षा शाखामा एक महीनामा पाँचजना संयोजक परिवर्तन गरिएको छ । बालविकासमा २४ जनाको दरबन्दी रहेकामा ३९ जनालाई भर्ना गरिएको छ ।